बल्खुमै बन्ने भयो एमालेको स्थायी केन्द्रीय कार्यालय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो स्थायी केन्द्रीय कार्यालय पुनः मदननगर बल्खुमै निर्माण गर्ने भएको छ । पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा एमालेले उक्त योजना सार्वजनिक गरेको हो । स्मृति दिवसलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले पार्टीको ऐतिहासिक तथा वैचारिक केन्द्रका रूपमा रहेको बल्खुलाई पुनः एमालेको स्थायी मुख्यालय बनाइने बताएका हुन् । उनले मदननगर बल्खुसँग एमालेको राजनीतिक इतिहास, जनसंगठन निर्माण र जनताको बहुदलीय जनवादको वैचारिक यात्राको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै सोही स्थानलाई आधुनिक सुविधासम्पन्न केन्द्रीय कार्यालयका रूपमा विकास गरिने जानकारी दिए । महासचिव पोखरेलले पार्टीको संगठनात्मक सुदृढीकरण, अभिलेख व्यवस्थापन, वैचारिक प्रशिक्षण तथा आधुनिक राजनीतिक गतिविधिका लागि नयाँ भवन निर्माण आवश्यक रहेको बताए । उनले बल्खुस्थित पार्टी कार्यालय केवल प्रशासनिक केन्द्र मात्र नभई एमाले आन्दोलनको ऐतिहासिक स्मारकका रूपमा समेत विकास गरिने धारणा राखे । एमालेको केन्द्रीय कार्यालय २०५३ सालदेखि मदननगर बल्खुमै सञ्चालन हुँदै आएको थियो । तत्कालीन समयमा निर्माण गरिएको पाँचतले भवन एमालेको राजनीतिक गतिविधिको प्रमुख केन्द्रका रूपमा परिचित थियो । तर २०७२ सालको विनाशकारी भूकम्पले भवनमा गम्भीर क्षति पु¥याएपछि पार्टीले उक्त भवन प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको थियो । भूकम्पपछि एमालेले आफ्नो केन्द्रीय कार्यालय विभिन्न स्थानमा सार्दै आएको छ । प्रारम्भिक चरणमा पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठान धुम्वाराहीमा सारिएको थियो । त्यसपछि केही समय थापाथलीस्थित भवनबाट केन्द्रीय गतिविधि सञ्चालन गरिएको थियो । पछिल्लो समय भने पार्टीले तुलसीलाल स्मृति प्रतिष्ठानबाट आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । लामो समयदेखि स्थायी पार्टी मुख्यालयको खोजीमा रहेको एमालेले अन्ततः पुनः बल्खुमै फर्कने निर्णय सार्वजनिक गरेसँगै पार्टीवृत्तमा उत्साह देखिएको छ । एमाले नेता खिमलाल भट्टराईले बल्खुमै केन्द्रीय कार्यालय बन्ने घोषणाले आफूलाई खुसी बनाएको बताए । नयाँ केन्द्रीय कार्यालय आधुनिक संरचना, सभा हल, अभिलेख केन्द्र, पुस्तकालय, प्रशिक्षण कक्ष तथा डिजिटल व्यवस्थासहित निर्माण गरिने प्रारम्भिक योजना रहेको छ ।
जबजको मर्म आत्मसात गर्दै राष्ट्रिय एकता र समृद्धिका लागि एकताबद्ध हुनुपर्छ : भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा दिएको सन्देशमा उनले उक्त दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । भण्डारीले जन नेता मदन भण्डारी र जीवराज आश्रित प्रति सच्चा श्रद्धाञ्जली उनीहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने उल्लेख गरिन् । उनले जबजले नेपाली राजनीतिमा लोकतान्त्रिक अभ्यास, जन उत्तरदायित्व र राष्ट्रिय स्वाभिमानलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न पनि त्यसैको मार्गदर्शन आवश्यक रहेको बताइन् ।
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ। दिवसले विशेषगरी सूचना तथा सञ्चार प्रविधिमा सबै नागरिकको समान पहुँच आवश्यक रहेको विषयलाई प्राथमिकतामा राख्ने गरेको छ। इन्टरनेट, कम्प्युटर, स्मार्टफोन लगायत प्रविधिको प्रयोगमा पहुँच भएका र पहुँचबाट वञ्चित समुदायबीचको अन्तरलाई ‘डिजिटल विभाजन’का रूपमा लिइन्छ। शहर तथा विकसित क्षेत्रमा रहेका नागरिकले सहज रूपमा डिजिटल सेवा प्रयोग गर्न पाउँदा दुर्गम तथा पिछडिएका क्षेत्रका मानिस त्यसबाट टाढा रहनु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ। विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन शुरु गरिएको हो। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। पछि सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न पूर्णाधिकार सम्मेलनले यस दिवसलाई औपचारिक मान्यता दिएको थियो। यसैबीच सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रसङ्घले सन् २००६ देखि मे १७ लाई ‘विश्व सूचना समाज दिवस’का रूपमा समेत मनाउने निर्णय गरेको थियो। त्यसयता प्रविधिको महत्व, डिजिटल शिक्षा, सूचना पहुँच तथा आधुनिक सञ्चार प्रणालीबारे विश्वव्यापी रूपमा जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार यो दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सिर्जना हुने अवसरबारे जागरण फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचसँग जोड्ने वातावरण निर्माण गर्नु हो।