सेनाले रेन्जर बोलको गीतमा कमेन्ट बन्द गर्यो
काठमाडौ । नेपाली सेनाले केही दिनअघि मात्र रेन्जर बोलको र्याप गीत सार्वजनिक गरेपछि फेसबुक पेजमा कमेन्ट सुविधा बन्द गरेको छ । सेनाले उक्त गीत नेपाली आर्मी नामको सामाजिक सञ्जाल फेसबुक पेजमा १४ घण्टा अगाडि सार्वजनिक गरेको भए पनि कमेन्ट सेक्सन बन्द गरिएको छ । यो समाचार लेखिरहँदा नेपाली सेनाको आधिकारिक फेसबुक पेजको उक्त भिडियोमा ७.८ के लाइक र १.७ के सेयर देखाउँछ । तर कमेन्ट गर्न नमिल्ने बनाइएको छ । नेपाली सेनाले फेसबुकमा हालेको उक्त गीतमा कमेन्ट सेक्सन बन्द गरिएको छ । आलोचना हुने त्रासले सेनाले फेसबुकमा कमेन्ट सेक्सन बन्द गरिएको छ । युट्युबमा २ लाख २५ हजार ५८५ भ्युज र २२ हजार लाइक रहेको छ । १.२ के कमेन्ट रहेको छ । सेनामा ‘रेन्जर’ भन्नाले विशेष तालिम प्राप्त लडाकु जनशक्तिलाई जनाइन्छ। गीतका शब्द प्रताप मगरले लेखेका हुन्। यसका मुख्य निर्देशक वासुदेव धिमाल रहेका छन् भने सिद्धार्थ मोक्तानले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । वैशाख ३१ गते युट्युबमा उक्त गीत सार्वजनिक गरेको थियो ।
१० महिनामा ६ अर्ब राजस्व संकलन, १० करोड बक्यौता असुली
काठमाडौं । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवको वैशाखसम्ममा अन्तःशुल्कतर्फ ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ, आयकरतर्फ १ अर्ब २ करोड ४ लाख ९६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार रुपैयाँ, ब्याज करतर्फ ६ करोड ८३ लाख ७७ हजार रुपैयाँ र बहालकरतर्फ १ करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रमुख सुवेदीका अनुसार चालु आवमा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । करदाताहरूको घरमा पुग्ने, टेलिफोन र एसएमएस मार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरी करिब १० करोड रुपैयाँ भन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए ।
गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज तोक्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । पार्टीको ११औँ महाधिवेशनपछि हालसम्म केन्द्रीय तहका नेताहरूको कार्य विभाजन हुन नसकेको कारण यो विषयलाई प्राथमिकतामा राखिएको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आजका लागि सारिएको थियो । पार्टीभित्रका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिने तयारी गरिएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई कुनै न कुनै स्थानीय तहको इन्चार्ज तोकेर संगठन सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको स्थिति बलियो बनाउने योजना रहेको छ । त्यसैगरी विभिन्न केन्द्रीय विभाग तथा निकायहरूको जिम्मेवारी बाँडफाँट पनि बैठकको एजेन्डामा रहेको छ । बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्ने जनाइएको छ ।