आज देशभर वर्षा र हुरी चल्ने, सतर्क रहन आग्रह
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राजदूत नियुक्तिका लागि परराष्ट्रले तोक्यो १५ बुँदे योग्यता, आवेदन खुला
काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलोपटक राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ । योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ । त्यस्तै, भ्रष्टाचार वा नैतिक पतन देखिने गरी फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वीपक्षीयरबहुपक्षीय कूटनीतिका आयामहरूबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको, अंग्रेजी भाषाको राम्रो ज्ञान भएको, कालोसूचीमा नपरेकोलगायतका योग्यता निर्धारण गरिएको छ । यस नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ । प्राप्त आवेदनमध्येबाट मन्त्रालयले छोटोसूची सार्वजनिक गर्नेछ।
७० प्रतिशत सकियो आर्थिक गणना, अनलाइनबाटै विवरण भर्ने सुविधा
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । उद्योग, व्यापार-व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत विवरण सङ्कलन गरेको हो । तोकिएका गणक तथा सुपरीवेक्षक देशभरका वडामा पुगेर कागजी प्रश्नावलीमार्फत व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिरहेको आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए । व्यवसायीले आफ्नो विवरण आफै अनलाइनमार्फत भरेर गणनामा सहभागिता जनाउनसक्ने व्यवस्था कार्यालयले गरेको छ । यही जेठ १३ गतेसम्म अनलाइनमार्फत तीन हजार ६७९ प्रतिष्ठानको आर्थिक विवरण अनलाइन सङ्कलन गरिएको उनले जानकारी दिए । सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफै ‘अनलाइन’बाट भर्ने प्रतिबद्धता जनाएका थिए । कार्यालयले लिइएको लक्ष्यअनुसार देशभर करिब ७० प्रतिशत कार्यप्रगति भएको जनाइएको छ । गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । विसं २०७५ मा पहिलोपटक गणना गरिएकामा यसपटक दोस्रो गणना भइरहेको छ । देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले गणना गरिएको हो । सङ्कलित विवरणका आधारमा सरकारलाई व्यावसायिक नीति, वाणिज्य नीति तथा आर्थिक विकासका तथ्यपरक योजना बनाउन सहज हुने जनाइएको छ । सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रलाई समेट्न लागिएको उक्त गणनाका लागि तीन हजार ९०६ गणक तथा ५२६ सुपरीवेक्षक खटिएका छन् । कार्यालयले आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको जनाइएको छ । देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्रदान गर्ने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । गणनालाई बढी भरपर्दो र विश्वासिलो बनाउन वडामा समेत समिति गठन गरिएको जनाइएको छ ।