आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्ष दृढ सङ्कल्पित हुनुपर्ने बताएकी छन् । १९औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सुख, शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना गरेकी छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘गणतन्त्र दिवसको यस सुखद अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल तथा आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।’ पूर्वराष्ट्रपति भण्डारीले अब नेपालको राष्ट्रिय लक्ष्य सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै मुलुकको स्वाधीनता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएकी छन् । नेपालको राजनीतिक इतिहासमा जेठ १५ गतेलाई गौरवशाली र अविस्मरणीय दिनका रूपमा स्मरण गर्दै उनले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गरेकी छन् । उनले गणतन्त्र केवल व्यवस्था परिवर्तनमात्र नभई जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने माध्यम भएको उल्लेख गर्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु यसको मूल उद्देश्य भएको बताएकी छन् । सन्देशमा भनिएको छ, ‘गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तब मात्र झल्किन्छ, जब समाजका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।’

खाँडादेवीको श्रीकृष्ण माविका १८२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका १८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनको सहयोगमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरिएको हो । फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरे । आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले पोशाक वितरण गरिएको फाउण्डेशनले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलिपकुमार श्रेष्ठले फाउण्डेशनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अध्ययनप्रति थप उत्साह जगाएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको आवश्यकतामा विभिन्न संघसंस्थाको सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ । वि.सं. २०३५ सालमा स्थापना भएको श्रीकृष्ण माध्यमिक विद्यालय खाँडादेवी क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्था मानिन्छ, जसले हालसम्म विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । गत वर्षको एसईई परीक्षा २०८२ मा विद्यालयबाट १९ जना विद्यार्थी सहभागी भएकामध्ये १८ जना उत्तीर्ण हुन सफल भएका छन्, जुन विद्यालयका लागि उत्साहजनक उपलब्धि मानिएको छ । नयाँ पोशाक प्राप्त गरेपछि विद्यार्थीहरू निकै खुसी देखिएका थिए । नयाँ पोशाकले विद्यालयप्रतिको अपनत्व र अध्ययनप्रतिको उत्साह थप बढाएको उनीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष डा. थोकरले शिक्षा क्षेत्रमा सहयोग गर्नु संस्थाको प्राथमिकतामध्ये एक रहेको बताए । उनले आगामी दिनमा पनि विद्यार्थी, विद्यालय तथा समुदायको हितका लागि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

बागलुङ प्रहरीको ७ दिने अल्टिमेटम, बिएन कन्स्ट्रक्सनलाई अन्तिम मौका

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले काठमाडौंको सितापइलास्थित बिएन कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । निर्माणाधीन भवन ब्यारेक ब्लक, डिटेन्सन सेल, वरिष्ठ अधिकृत क्वार्टर, इन्चार्ज क्वार्टर, कार्यालय मर्मत, ल्यान्डस्केपिङ र ग्यारेज निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको भन्दै निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।  कार्यालयले बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कार्य अपेक्षाअनुसार अघि नबढेको उल्लेख गरेको छ । हाल हर्जना सहितको समय अवधि १७ दिन मात्र बाँकी रहेको अवस्थामा समेत प्रगति सन्तोषजनक नदेखिएको कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयले निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा ७ दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित आधिकारिक व्यक्ति स्वयं उपस्थित हुन निर्देशन दिएको हो । कार्यालयका अनुसार निर्माण व्यवसायीले कार्यप्रति चासो नदेखाएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(२)(क) तथा ५९(७), सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८(२)(ग) (घ) र ठेक्का सम्झौताका जीसीसी क्लज ७२.३ (आई) अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको छ ।  ‘यदि तोकिएको समयभित्र स्पष्टिकरण प्राप्त नभएमा यो सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता तोड्ने, कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने तथा बाँकी काम सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अघि बढाइनेछ,’ सूचनामा भनिएको छ ।