ऊर्जा क्षेत्रका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले ऊर्जा उत्पादन, प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नर्सिङ लगायतका प्रविधिक विषयमा अब ‘सिटको बन्देज’ हट्ने

काठमाडौं । सरकारले नर्सिङ, प्राविधिक लगायतका उच्च शिक्षाका विभिन्न विषयमा लामो समयदेखि कायम कोटा प्रणाली पुनरावलोकन गर्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षभित्रै कोटा प्रणालीको समीक्षा गरी उल्लेख्य रूपमा सिट संख्या बढाइने घोषणा गरेका हुन् । सरकारले उच्च शिक्षालाई केवल प्रमाणपत्र दिने थलो नभई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन तथा राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा विकास गर्ने नीति लिएको जनाएको छ । यसअन्तर्गत नर्सिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा विद्यार्थीको बढ्दो माग, जनशक्ति आवश्यकतासँगै अन्तर्राष्ट्रिय अवसरलाई ध्यानमा राखेर कोटा प्रणालीलाई थप उदार बनाउने तयारी गरिएको हो । हाल नर्सिङ र आईटीजस्ता विषयमा सीमित कोटाका कारण ठूलो संख्यामा विद्यार्थी अवसरबाट वञ्चित हुँदै आएका छन् । सरकारले अब उक्त व्यवस्था पुनरावलोकन गर्दै उच्च शिक्षामा पहुँच विस्तार गर्ने संकेत दिएको छ ।

विदेशी लगानी फिर्ता प्रक्रिया सहज बनाइने, राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने

काठमाडौं । सरकारले विदेशी लगानी फिर्ता प्रक्रियालाई सरल बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने जानकारी दिए । नयाँ व्यवस्थाअनुसार विदेशी लगानी फिर्ता गर्न अब नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने र केबल जानकारी दिए पुग्नेछ । सरकारले यो कदमले नेपालमा लगानी वातावरण अझ सहज, पारदर्शी र लगानीमैत्री हुने अपेक्षा गरेको छ ।