काठमाडौंबाट अवैध विदेशी मुद्रा, सुन र चाँदीसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौं महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘काठमाडौंको ज्याठा ठहिटी एरियामा केही व्यक्तिले अवैध विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन, चाँदी ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले उहाँलाई पक्राउ गरेको हो ।’ उनको साथबाट नेपाली रु सात लाख ३० हजार, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न टुक्रा १७ थान, (तौल ७५ ग्राम) तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका निज घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए ।
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
भक्तपुर । भक्तपुरमा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।
अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
म्याग्दी । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो । बेनी– जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विभागका उपकरण परिचालन गरेर सडकमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवतजावत सुचारु भएको जानकारी दिनुभयो । रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याएको गाडीभित्र एक्लै रहेका मिया च्यापिएका थिए । सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।