रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बुधबार (आज) संशोधित तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ ।  आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन आज दिउँसो ३ः३० बजे गरिएको छ । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ ।  साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ । साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ ।  उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ । बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ ।  पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।

चन्द्रागिरीबाट नक्कली डाक्टर पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा डाक्टरको नक्कली उपाधि खडा गरी गैरकानूनी रूपमा बिरामीको उपचारमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं साविक मातातीर्थ गाविस वडा नंम्बर ७ ठेगाना भएका ४७ वर्षीय चेतना ए.एम. (पौडेल) रहेकी छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाँसबारीको नियमित अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा पाैडेलले कानुनविपरीत चिकित्सा अभ्यास गरिरहेको फेला पारेको थियो । पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि (डाक्टर) प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै आधुनिक चिकित्सा निदान र उपचार गरिरहेको पाइएको हो ।  अनुगमनका क्रममा उनले बिरामीलाई विभिन्न औषधिहरू सिफारिस गरेको प्रेस्क्रिप्सनसहित फेला पारिएपछि मेडिकल काउन्सिलले ब्यूरोमा छानविन प्रतिवेदनसहित उजुरी दर्ता गरेको थियो । उजुरी प्राप्त भएलगत्तै प्रारम्भिक अनुसन्धान गरी ब्यूरोको टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । प्रहरी टोलीले पौडेललाई असार ९ गते चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ

महिलाको अश्लील तस्बिर तथा भिडियो पोस्ट गर्ने तिमिल्सिना पक्राउ काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ त्रिभुवन पार्क बस्ने १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना रहेका छन् । ब्यूरोका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिस्कोर्ड र टेलिग्राममा समेतमा पोस्ट गरिएको थियो ।  आफ्नो चरित्र हत्या हुने गरी सामग्रीहरू पोस्ट भएपछि पीडित महिलाले कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । पीडितको निवेदनका आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो ।  सोही अनुसन्धानका आधारमा तिमल्सिनाको संलग्नता पुष्टि भएपछि ब्यूरोको टोलीले उनलाई असार १० गते पक्राउ गरेको हो। पक्राउ परेका तिमल्सिनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।  थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।