इन्जिनियर सेरोक्स् सुकुपायोलाई हटाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा मन्त्रालयले इन्जिनियर सेरोक्स् सुकुपायोलाई पदबाट हटाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत विकास विभागमा कार्यरत इन्जिनियर सेरोक्स् सुकुपायोलाई सेवाबाट हटाउने तयारी गरेको हो ।  नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, राजपत्र तृतीय श्रेणीका इन्जिनियर सुकुपायो स्वीकृत बिदा नलिई लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेपछि सेवाबाट हटाउने तयारी गरेको हो ।  वैदेशिक अध्ययन पूरा गरेपछि ३० दिनभित्र कार्यालयमा हाजिर नभएको तथा अध्ययन बिदापछि अनिवार्य रूपमा गर्नुपर्ने न्यूनतम सेवा अवधि पनि पूरा नगरेको मन्त्रालयले जनाएको छ । यसअघि निजामती सेवा नियमावली, २०५० अनुसार सफाइ पेश गर्ने अवसर दिइए पनि पेश गरिएको सफाइ सन्तोषजनक नभएको मन्त्रालयको भनाइ छ । त्यसैले निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) र (ज) अन्तर्गतको कसुरमा सोही ऐनको दफा ५९(ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी निजामती सेवाबाट किन नहटाउने भन्दै कारणसहित स्पष्टीकरण पेश गर्न मन्त्रालयले ३० दिनको समय दिएको छ । 

२ हजार १०२ चालकलाई कारबाही, २१ लाख रुपैयाँ जरिवाना

काठमाडौं । बितेका २४ घण्टामा २ हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०८, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका १ हजार ४८४ जनालाई कारबाही गरिएको हो ।

मापदण्ड विपरीत सञ्चालित नेशनल बाथरोग सेन्टर बन्द

काठमाडौं । चितवनको भरतपुर-१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो ।  भरतपुर मेट्रो क्लिनिक भनेर दर्ता गरिएको क्लिनिक २०८१ सालसम्म मात्र नविकरण गरेको र नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरेको पाइएपछि बन्द गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले बताए । ‘नेशनल बाथ रोग सेन्टरका नाममा सेवा प्रदान गरिएको छ । यो बिशिष्टिकृत सेवा हो सङ्घमा दर्ता हुनुपर्छ,’ उनले भने ।  क्लिनिकले भौतिक संरचनालगायतका मापदण्ड पुरा नगरेको उनले बताए । यस्तै क्लिनिकले सेवा प्रदायक चिकित्सकसँग सम्झौता नगरेको र प्रयोगशाला नविकरण नगरेको पाइएको घिमिरेको भनाइ छ ।  लापरवाही गरेर क्लिनिक सञ्चालन गरेका कारण तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनले नियमअनुसार मापदण्ड पुरा गरी दर्ता गरेर सेवा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।