सामान्य घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन–चाँदीको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँलेले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।   

बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न निर्देशन जारी गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३ बमोजिम इजाजतप्राप्त सम्पूर्ण बीमा सर्भेयरका नाममा पोर्टफोलियो काम गर्न निर्देशन दिएको हो ।  सूचना प्रकाशन भएको १० दिनभित्र पोर्टफोलियो कायम गर्न प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जारी सूचनाअनुसार सर्भेयरले  आईआरएमआईएस प्रणालीमा बीमा सर्भेयरको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ ।  बीमा ऐनको दफा ९१ को उपदफा (५) बमोजिम सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले बीम नियमावलीको नियम ४५ (१) अनुसार आफ्नो विशेषज्ञता रहेको रोजेको पोर्टफोलियोको इजाजतपत्र कायम गर्न पोर्टफोलियो उल्लेख गरी निवेदन पेस गर्नुपर्नेछ । त्यस्तै बीमा नियमावलीको नियम ४९ को उपनियम (२) बमोजिम सबै संस्थागत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले वर्गविहीन इजाजतपत्र कायम गर्न निवेदन पेस गर्नुपर्नेछ । बीमा नियमावलीको नियम ४९ को उपनियम (१) खण्ड (ग) बमोजिम ‘ग’ वर्गको इजाजतपत्र कायम गर्न ‘घ’ वर्गका सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले निवेदन पेस गर्नुपर्नेछ ।  

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।