रास्वपाका सांसद डिजिटल निगरानीमा, हरेक गतिविधि ‘पल्सआरएसपी’मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणालीबारे अभिमुखीकरण गराउने भएको छ । पार्टीलाई डिजिटल रूपमा व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रणालीबारे जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न आज बैठक राखिएको हो ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकलगत्तै प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसद्मा उठाइने विषयवस्तु प्रणालीमा राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य कार्यक्रमको विवरणसमेत पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस प्रणालीमार्फत नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग गुनासा राख्न सक्ने, त्यसको अनुगमन हुने तथा सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने सुविधा समावेश गरिएको रास्वपाले जनाएको छ ।

पार्टीले उक्त अभिमुखीकरण कार्यक्रममा सबै सांसदको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ ।

Share News