पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना हुने

१५ दिन इन्धन वितरण रोक्ने निगमको चेतावानी

काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ । 

निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो गतिविधिमा संलग्न व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान लागू गरेको हो ।

पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर आपूर्ति प्रभावित भएको थियो । 

अत्यावश्यक वस्तुको आपूर्ति असहज बनाउने गतिविधि रोक्न स्पष्ट कानुनी व्यवस्था आवश्यक देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निगमलाई तत्काल कदम चाल्न निर्देशन दिएकी थिइन् ।

मन्त्रीको निर्देशनपछि निगम सञ्चालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्दै “नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ अभाव सिर्जना गर्न नहुने” प्रावधान थप गर्ने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरेमा तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिएमा छ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति रोक्का हुनेछ भने तेस्रो पटक उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ ।

निगमका अनुसार संशोधित व्यवस्थासँगै अब कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प व्यवसायीलाई कानुनी रूपमा कडाइका साथ कारबाही गर्न स्पष्ट आधार तयार भएको छ ।

Share News