काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई सरकारले त्रिविको उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव बटुलेका डा. थापा नेपालको उच्च शिक्षा क्षेत्रका परिचित नाम हुन् ।
मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनर विषयमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणले पार्ने क्षरणसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका छन् ।
राजधानीमा ५६ वर्षअघि जन्मिएका डा. थापाले प्रारम्भिक शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट तथा प्रवीणता प्रमाणपत्र तह अमृत साइन्स क्याम्पसबाट पूरा गरेका हुन् ।
त्यसपछि पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ अध्ययन गरी नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि हासिल गरेका थिए ।
सरकारी सेवाबाट करिअर सुरु गरेका उनी सन् १९९४ मा काठमाडौं विश्वविद्यालयमा लेक्चररका रूपमा प्रवेश गरेका थिए । त्यसयता उपप्राध्यापक, प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै सन् २०२१ मा काठमाडौं विश्वविद्यालयको उपकुलपति बने ।
काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्दा उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने, अनुसन्धानलाई सुदृढ गर्ने तथा स्रोत-साधन सम्पन्न संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न सुधारका पहल गरेका थिए ।
पढाइमा आफू औसत विद्यार्थी रहेको बताउने डा. थापाले निरन्तर मेहनत, लगन र अनुशासनका बलमा नेपालको उच्च शिक्षा क्षेत्रको सर्वोच्च नेतृत्वमध्ये एक स्थान हासिल गरेका छन् ।