अर्थका दुई विभागमा २ जना भुसाल, भन्सारमा यमलाल, राजश्वमा भीष्म

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ । भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् । यस्तै, आन्तरिक राजश्व विभागका हालका महानिर्देशक रमेश अर्याल पनि अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन् । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् । 

उखु किसानलाई २ अर्ब भुक्तानी, २० करोड अनुदान पनि सिफारिस

काठमाडौं । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब २ अर्ब रुपैयाँ किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्विविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । चालु आर्थिक वर्ष २०८२­/८३ को हालसम्म दुवै उद्योगमा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बुझाइएको अभिलेख छ । जम्मा उखुको मूल्य बापत हुने १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँमध्ये १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे ।  जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यसपालीको उखु बापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

बर्डफ्लुबाट प्रभावित किसानलाई सरकारले दियो ५२ करोड राहत

काठमाडौं । पशु सेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्ति स्वरूप ५२ करोड रुपैयाँ एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो । विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एक साताभित्र रकम भुक्तानी गरिने जानकारी दिइन् । उनका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ । बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ । विभागका प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गरिन् । बर्डफ्लु सङ्क्रमणका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढी प्रभावित भएका छन् । हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको तथा करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ ।