आगामी वर्ष १२ वटा प्रसारण लाइन सकिने, आन्तरिक सुधार र विस्तारका लागि ४६ अर्ब बजेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षमा प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, सिँचाइ पूर्वाधार र ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।  मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्ति समस्याप्रति मन्त्रालय गम्भीर रहेको र तत्काल, मध्यकालीन तथा दीर्घकालीन रणनीतिअनुसार समाधानका काम अघि बढाइएको जानकारी दिए । उनले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको उल्लेख गर्दै पछिल्ला तीन महिनामा प्राप्त करिब १८ हजार ३ सय गुनासो सम्बोधन गरिएको बताए । मन्त्री श्रेष्ठका अनुसार अहिले देशमा विद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी भए पनि पुराना प्रसारण तथा वितरण संरचना, तीव्र रूपमा बढ्दो विद्युत् माग र प्रतिकूल मौसमका कारण केही क्षेत्रमा आपूर्ति प्रभावित भएको हो ।  सरकारले आगामी आर्थिक वर्षभित्र १३२ केभीका ९ वटा, २२० केभीका २ वटा तथा नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन गरी कुल १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य लिएको उल्लेख गर्दै आन्तरिक तथा अन्तरदेशीय प्रसारण र वितरण प्रणालीको सुधार तथा विस्तारका लागि करिब ४६ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । सिँचाइतर्फ सरकारले नयाँ आयोजना सुरु गर्नेभन्दा निर्माणाधीन तथा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने नीति लिएको मन्त्री श्रेष्ठले बताए । आगामी आर्थिक वर्षमा थप १५ हजार ७ सय ७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने र सिञ्चित क्षेत्रको अनुपात ६४ प्रतिशत पु¥याउने लक्ष्य रहेको उनले उल्लेख गरे । त्यस्तै बबई, भेरी–बबई र सुनकोशी-मरिन डाइभर्सनलगायत ठूला आयोजनाका लागि पर्याप्त बजेट र कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरिएको जानकारी दिँदै उनले तराई-मधेशमा भूमिगत जल सिँचाइ विस्तार, डिप ट्युबवेल निर्माण, लिफ्ट सिँचाइ, साना जलाशय निर्माण तथा नदी नियन्त्रणका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको बताए । ऊर्जा उत्पादनतर्फ आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने भन्दै उनले राष्ट्रिय विद्युत् पहुँच हाल ९७.६ प्रतिशत पुगेको र आगामी आर्थिक वर्षको अन्त्यसम्म ९८.१ प्रतिशत पु¥याउने लक्ष्य रहेको जानकारी दिए । बाँकी क्षेत्रमा लघु जलविद्युत, सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जामार्फत सेवा विस्तार गरिने उनले बताए । मन्त्री श्रेष्ठले अब विद्युत् उत्पादनसँगै खपत वृद्धि र ऊर्जा व्यापारलाई पनि प्राथमिकता दिनुपर्ने समय आएको उल्लेख गर्दै सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति-२०८३ कार्यान्वयनमा ल्याएको बताए ।  रणनीतिअनुसार आन्तरिक खपत बढाउँदै वर्षायाममा बचत हुने विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गरिने उनले स्पष्ट पारे । ऊर्जा क्षेत्रमा पहिलोपटक व्यापार उदारीकरणको नीति अपनाइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अब निजी क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न पाउने तथा निजी लगानीमा प्रसारण लाइन निर्माण गरी ‘ह्विलिङ चार्ज’ मार्फत विद्युत् व्यापार गर्ने कानुनी व्यवस्था अघि बढाइएको जानकारी दिए ।

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ । आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो ।  माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।  

आजै अभिषेक गिरीलाई सीआईबीले म्याद थप्न अदालत लैजाने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठगी तथा अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ । सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार गिरीलाई अनुसन्धानको सिलसिलामा ब्युरोमा ल्याइएको हो ।  प्रवक्ता जवराले ठगी तथा अन्य आपराधिक कसुरमा अनुसन्धान भइरहेको विकासन्युजलाई जानकारी दिए । गिरीलाई कानुनी प्रक्रियाका लागि आजै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको समेत सिआईबीले जनाएको छ ।  प्रवक्ता जवराले भने, ‘अनुसन्धानको सिलसिलामा गिरीलाई यहाँ ल्याइएको छ। ठगी तथा अपराध विषयको सम्बन्धमा अनुसन्धान भइरहेको छ र आजै म्याद थप्ने प्रक्रिया अगाडि बढ्छ ।’ सोमबार गिरीलाई मोरङ जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । केही दिनअघि मात्र उनलाई मोरङ जिल्ला कारागारका कैदीबन्दीसँग रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले एक कैदीबन्दीसँग ५ सयदेखि १ हजार रूपैयाँ असुल्ने गरेका थिए । राज्यले कैदीबन्दीलाई भत्तास्वरूप दिएको पैसा उनले लिने गरेका थिए । कारागारले कैदीबन्दीलाई गर्मीका लागि पोशाक तथा रासनभत्ता उपलब्ध गराएको रकमसमेत उनले असुल्ने गरेका थिए ।  गिरी केही समयअघिसम्म सोही कारागारमा कैदीबन्दीका रूपमा पनि थिए । कारागारबाट छुटेपछि नेपाली कांग्रेससँग आवद्ध भएका थिए ।  त्यसैगरी, उनले गिरी फाउन्डेसनमार्फत मोरङका विभिन्न ठाउँमा पुगेर समाजसेवा गर्दै आएका थिए ।