आजै अभिषेक गिरीलाई सीआईबीले म्याद थप्न अदालत लैजाने

अभिषेक गिरी । फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठगी तथा अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार गिरीलाई अनुसन्धानको सिलसिलामा ब्युरोमा ल्याइएको हो । 

प्रवक्ता जवराले ठगी तथा अन्य आपराधिक कसुरमा अनुसन्धान भइरहेको विकासन्युजलाई जानकारी दिए ।

गिरीलाई कानुनी प्रक्रियाका लागि आजै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको समेत सिआईबीले जनाएको छ । 

प्रवक्ता जवराले भने, ‘अनुसन्धानको सिलसिलामा गिरीलाई यहाँ ल्याइएको छ। ठगी तथा अपराध विषयको सम्बन्धमा अनुसन्धान भइरहेको छ र आजै म्याद थप्ने प्रक्रिया अगाडि बढ्छ ।’

सोमबार गिरीलाई मोरङ जिल्ला अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । केही दिनअघि मात्र उनलाई मोरङ जिल्ला कारागारका कैदीबन्दीसँग रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनले एक कैदीबन्दीसँग ५ सयदेखि १ हजार रूपैयाँ असुल्ने गरेका थिए । राज्यले कैदीबन्दीलाई भत्तास्वरूप दिएको पैसा उनले लिने गरेका थिए ।

कारागारले कैदीबन्दीलाई गर्मीका लागि पोशाक तथा रासनभत्ता उपलब्ध गराएको रकमसमेत उनले असुल्ने गरेका थिए । 

गिरी केही समयअघिसम्म सोही कारागारमा कैदीबन्दीका रूपमा पनि थिए । कारागारबाट छुटेपछि नेपाली कांग्रेससँग आवद्ध भएका थिए । 

त्यसैगरी, उनले गिरी फाउन्डेसनमार्फत मोरङका विभिन्न ठाउँमा पुगेर समाजसेवा गर्दै आएका थिए ।

Share News