इटालीमा रेकर्डसहित इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा मन्त्रालयमा सम्मानित
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेका छन् । बिहीबार (आज) मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन् । सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको पहिचान र गौरव बढाएको बताए । उनले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । शिक्षामन्त्रीबाट सम्मान ग्रहणपछि अल्ट्रा धाविका बुढाले यस सम्मानबाट आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको बताए । जुम्ला पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी थिइन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी थिइन् ।
सुकुमवासीको उचित व्यवस्था गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ । विसं २०८३ वैशाख १२ गतेदेखि काठमाडौं जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुमवासीको घरटहरा हटाइ उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । हाल उनीहरुलाई ती सेन्टरबाट हटाइएको छे । विज्ञप्तिमा भनिएको छ, ‘सुकुमवासीलाई पछिल्लो पटक हटाएको मितिदेखि आयोगले हालसम्म उनीहरूको अवस्थाबारेमा गरिरहेको अनुगमनबाट सूचना टाँस गरी पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतित भएपछि पुनः थप सात दिनको समयावधि तोकिएकोलगायत तथ्यहरु पाइएको छ ।’ राज्यका निकायबाट विनाविकल्प होल्डिङ सेन्टरबाट हट्न ‘अल्टिमेटम’ दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषतः उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायबाट अभिभावकत्व ग्रहण नगर्नेलगायत अवस्था देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । बिहीबार बिहान आत्मदाह प्रयास गरेका उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार आईसीयूमा राखेर उपचार भइरहेका उनको अवस्था गम्भीर छ । उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग जलेको छ । शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक गरेको थियो । सोही तनावका कारण उनले आत्मदाह प्रयास गरेका बताइए पनि स्पष्ट कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनसन्धान गरिरहेको छ ।