काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन झण्डै ३८ करोड ५६ लाख रुपैयाँ सहयोग जुटेको छ ।
विभिन्न २७ संस्था तथा व्यक्तिले कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा योगदान गरेका हुन् ।
राहत सहयोगमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता देखिएको छ ।
कोषमा सूर्य नेपाल प्रालिले मात्रै १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ योगदान गरेका छन् ।
यस्तै, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन् ।
व्यक्तिगततर्फ उद्योगी विजयकुमार शाहले १ करोड तथा राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ राहत कोषमा योगदान गरेका छन् ।
पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले पनि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
त्यसैगरी, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वक्र्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले १–१ करोड रुपैयाँ योगदान गरेका छन् ।
यस्तै, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
अन्य संस्था तथा व्यक्तिबाट समेत थप सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।