मुख्यसचिव बने गोविन्दबहादुर कार्की

काठमाडाैं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । अर्याल करिब सात महिना मुख्यसचिव रहेर असार २६ गते उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।

मेलम्चीको पानी बन्द, शिवपुरीबाट ५ करोड लिटर पानी ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोत परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन् । कार्यकारी निर्देशक साहका अनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानीको आपूर्ति बन्द भएपछि केयूकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित वागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तीव्रता दिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन र दररेटसम्बन्धी समस्याका कारण रोकिएको उक्त आयोजना हिजोको बैठकबाट ईआईए प्रतिवेदन स्वीकृत भएसँगै ‘फास्ट ट्र्याक’ मा अगाडि बढाइएको छ । हाल वागमतीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ । पहिलेका दुई वटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य हिजोबाटै सुरु भइसकेको छ । उक्त आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताए । आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ। यसबाट चक्रपथभित्र मेलम्चीको पानी अभावका कारण प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ। उनले भने, ‘यो मेलम्ची काठमाडौं उपत्यकामा पानीका स्रोतहरूमध्ये अहिले मेलम्चीबाट आउने १८ देखि २० करोड लिटर प्रतिदिन पानीको आपूर्ति बन्द भएको अवस्थामा हामीले वैकल्पिक पानीको स्रोत खोज्ने क्रममा सुन्दरीजल प्रशोधन केन्द्रमाथि वागमती खोलाबाट शिवपुरीको पानी ल्याउने हाम्रो ५–६ वर्षअघिको योजना थियो । विभिन्न कारणले ईआईए प्रतिवेदन नबनेर तथा हामीले दुईपटक टेन्डर गरे पनि दररेटका कारण रद्द गर्नुपर्ने स्थिति भएको थियो ।’ केयूकेएलमा रहेको ठूलो परिमाणको बक्यौता असुल गर्ने प्रक्रिया अगाडि बढाइएको र मध्यपुर थिमीका केही घरमा देखिएको पानीको समस्यालाई तत्काल समाधान गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सडक खन्ने सन्दर्भमा स्थानीय तह तथा वडा अध्यक्षहरूसँग आवश्यक समन्वय गरेर काम गरिने समेत उनले स्पष्ट पारे ।

विष्णु पौडेलविरुद्ध ५ दिन म्याद थप

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा  पाँच दिन म्याद थप भएको छ ।  बुधबार विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप गर्न आदेश दिएको हो । उनलाई अदालतको आदेशसँगै पुनः न्यायिक हिरासतमा राखिने छ। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई राति नै स्थल मार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो । अदालतले उनलाई चाैँथाेपटक म्याद थप गरेकाे हाे ।