यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात, किसानलाई सहज आपूर्ति गर्न सरकार प्रतिबद्ध

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट पारेकी छन् ।  चितवनको खैरहनीमा शनिबार (आज) आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताइन् । ‘कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भनेर हामीले रातदिन खटेर काम गरेका छौं । आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को आयात सुरु हुँदैछ । मल बन्दरगाहमा पुगिसकेको छ,’ मन्त्री चौधरीले भनिन् । उनले आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिइन् । माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न ‘टोल-फ्री नम्बर’ सञ्चालनमा ल्याइएको बताइन् ।  मन्त्री चौधरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको जानकारी दिँदै खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको बताइन् । मागअनुसार आपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट गरिन् ।   

बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

काठमाडौं । बझाङमा शनिबार (आज) अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् ।  जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको राससलाई टेलीफोनमा बताए । स्थानीय र सुरक्षाकर्मी उद्धारमा सक्रिय छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएका बताए । जीपमा १५ जना सवार रहेका  जानकारी प्राप्त भएको उनको भनाइ छ । 

लागुऔषधसहित २८ जना पक्राउ

काठमाडौं ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । उनीहरूलाई काठमाडौं, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो ।  पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।