सिंहदरबार दक्षिण गेटमा अनेरास्ववियुको प्रदर्शन, केहीबेर यातायात प्रभावित

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । संगठनका कार्यकर्ताले मोटरसाइकल सडकमै पार्किङ गरी विभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण सिंहदरबारको दक्षिण गेट क्षेत्रको सडकमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । त्यसक्रममा उक्त क्षेत्रमा सवारीसाधनको चाप बढेको देखिएको थियो । प्रदर्शनको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रदर्शनकारीसँग मोटरसाइकल हटाउन आग्रह गर्दै सडक खुलाउने प्रयास गरेको थियो । त्यसपछि प्रहरीले मोटरसाइकल हटाएर सडक सञ्चालनलाई सहज बनाएको थियो । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिएपछि सो क्षेत्रमा यातायात पुनः सामान्य रूपमा सञ्चालन भएको थियो । प्रदर्शनको कारण र संगठनले उठाएका मागबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन । 

लालीगुराँस सहकारीको जग्गा ५९ लाखमा बिक्रीमा, प्रतिआना ४ लाख रुपैयाँ

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको जग्गा लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ । समितिले संस्थाको नाममा दर्ता रहेको ललितपुरको साबिक झरुवारासी-५ख स्थित कित्ता नम्बर ३९९ को १४ आना ३ पैसा क्षेत्रफलको जग्गा बिक्रीमा राखेको हो ।  उक्त जग्गाको प्रति आना न्यूनतम् मूल्य ४ लाख रुपैयाँ तोकिएको छ भने कुल न्यूनतम् मूल्य ५९ लाख रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  समितिका अनुसार सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि सहकारी ऐन, २०७४ अनुसार संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको जिम्मेवारी समितिले लिएको थियो । संस्थाका ऋणी सदस्य, सञ्चालक तथा अन्य दायित्व भएका पक्षलाई साँवा, ब्याज, हर्जाना र जरिवाना बुझाउन पटक-पटक सूचना जारी गरिए पनि दायित्व फरफारक नगरेपछि सम्पत्ति लिलाम प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । 

देशभर ५० प्रतिशत मात्रै धान रोपाइँ, गत वर्षभन्दा सुस्त प्रगति

काठमाडौं । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिए ।  प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ । देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।