पदक विजेता खेलाडीलाई सरकारले १० करोडभन्दा बढी नगद पुरस्कार दिने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो ।  सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यसअघि पनि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै आइए पनि यो हालसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार राशि हो ।  सरकारले खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठुलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ । प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन् । त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ । यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ । 

रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गर्ने तामाङ पक्राउ

काठमाडौं । रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । आइतबार काठमाडौंको बागेश्वरीस्थित रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गरी फरार रहेका २१ वर्षीय आकाश तामाङ पक्राउ परेका हुन् । प्रहरीले वृत्त गौशालामा प्राप्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार तिलगंगाबाट तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्र०३-०२-०११ प २८४६ नम्बरको एप्रिला कम्पनीको स्कुटर र बा प्र-०२-०४३५ ८५४२ नम्बरको होन्डा कम्पनीको डियो स्कुटर सहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, चौतर्फी दबाबपछि हिरासतबाट रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका क्रममा घाइते भएका माजिद अन्सारी उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)बाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएसँगै उनी प्रहरी हिरासतबाट पनि रिहा भएका छन् । काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टर, सत्सङ्गबाट पक्राउ परेका अन्सारीलाई राष्ट्रिय मानव अधिकार आयोगको प्रत्यक्ष रोहबरमा अस्पतालबाट डिस्चार्ज गरिएको हो । त्यसपछि आयोगकै उपस्थितिमा उनी प्रहरी हिरासतबाट मुक्त भएका हुन् । अन्सारीको रिहाइ चौतर्फी दबाबपछि भएको बताइएको छ । उनीमाथि भएको भनिएको कुटपिट र पक्राउको विषय सार्वजनिक भएपछि मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, जेन–जी अभियन्ता तथा विभिन्न क्षेत्रबाट सडकदेखि संसदसम्म आवाज उठाइएको थियो । बढ्दो सार्वजनिक दबाबपछि प्रहरीले अन्सारीलाई कुनै सर्तबिना हिरासतबाट रिहा गरेको परिवारले जनाएको छ । यद्यपि, उपचारका क्रममा लागेको सम्पूर्ण खर्च भने सरकारले नबेहोरेको परिवारको भनाइ छ। उपचार खर्च परिवारले नै व्यहोरेको जनाइएको छ । हाल अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको संरक्षणमा रहेका छन् । उनीमाथि प्रहरी हिरासतमा भएको भनिएको कुटपिट तथा यातनासम्बन्धी घटनाको अनुसन्धान, न्यायिक प्रक्रिया र कानुनी उपचारका बाँकी विषय आयोगले तयार गर्ने प्रतिवेदनका आधारमा अगाडि बढाइने बताइएको छ । अन्सारीको जीवनरक्षा, उपचार र सुरक्षाका लागि निरन्तर आवाज उठाउने मानव अधिकारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, जेन–जी अभियन्ता तथा सबै सहयोगीप्रति उनका परिवारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।