काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूका लागि उद्धार तथा राहत सामग्री बोकेर भारतीय वायुसेनाको विशेष जहाज काठमाडौं आउने भएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले १० टन बराबरको राहत र अत्यावश्यक औषधिजन्य सामग्री काठमाडौं पठाइएको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउँदै विदेशमन्त्री जयशंकरले नेपालको बाढीप्रभावित क्षेत्रका लागि मानवीय सहायता सामग्री परिचालन गरिएको बताएका छन् ।
विपद्को यस कठिन घडीमा भारत सरकार र भारतीय जनता नेपाल तथा नेपाली नागरिकहरूको साथमा रहेको समेत उनले पुनः दोहोर्याएका छन् ।
बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नागरिकहरू प्रभावित बनेका छन् ।