१० लाखमा बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
काठमाडौं । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोग विहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो । बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयबासीको श्रमदान जुटाएर पर्यटकका लागि आश्रयस्थल भवन, वनभोज स्थल र बाघको प्रतिमा भएको पार्क निर्माण गरेको बेनी नगरपालिका-३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए । 'आर्थिक वर्ष २०७६/७७ मा वडाको प्रस्तावमा बेनी नगरपालिकाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको पार्क निर्माण योजनाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएका छौँ,' उनले भने, 'यसपालि विनियोजन भएको ३ लाख रुपैयाँ बजेटबाट वनभोज स्थलका लागि आवश्यक सामग्री खरिद र घेराबार गरेर पूर्णता दिने तयारीमा छौँ ।' पार्क निर्माणमा नगरपालिका र समुदायको १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको वडाअध्यक्ष पुनले बताए । समुद्री सतहदेखि करिब २ हजार २५० मिटर उचाइमा अवस्थित बाघखोरमा पार्क बनाउन बराहताल सामुदायिक वन क्षेत्रमा पर्ने ८ रोपनी जग्गालाई घेराबार गरिएको छ । दुइवटा भवन, सार्वजनिक शौचालय निर्माण भएको पार्कमा खानेपानीको व्यवस्था पनि मिलाइएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले बताए । ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर बाघको प्रतिमा राखिएको छ । स्थानीय दिलमती र सञ्जय सुनारले पानको पात अङ्कित स्तम्भ बनाएका छन् । धनलाल जैसीको सहयोगमा कालिका र मालिका देवीको मन्दिर निर्माण भएको छ । मुसुङ र भुकभुकेदेखि स्वर्गाश्रम जाने पदमार्ग र सडकको छेउमा अवस्थित बाघखोरबाट धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमशृङखला, सूर्योदय, नागबेली परेर बगेको म्याग्दी नदी र म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्वर्गाश्रम र बेलढुङ्गा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्बाउने उद्देश्यले बाघखोरमा पार्क बनाएको निर्माण समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार परापुर्वकालमा यहाँ बाघलाई पासोमा पार्न खोर राखिएकाले बाघखोर नामाकरण भएको किंवदन्ती छ । रासस
शिक्षकहरूको अनुरोधमा सरकारले तोकेको तालिका अगाडि नै पठनपाठन सुरु
काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् । सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि नवलपरासीका अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ । पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको अनुरोधअनुसार नगर प्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गरेको बताए । ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो । प्रअहरूले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो,’ उनले भने । अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उनले बताए । त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरूले मङ्गलबारदेखि नियमित पठनपाठन सुरु गरिसकेका जानकारी दिए । हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको बताए । जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले कार्यपालिका बैठक बसेर बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको बताए । ‘सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरूको आग्रहमा कार्यपालिका बैठकले १० गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो,’ उनले भने । जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशनविरुद्ध नजाने निर्णय गरेका छन् । देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले विद्यालयको पठनपाठन अगाडि गर्ने भनेर कार्यपालिका बैठक बसेको भए पनि पारित हुन नसकेको बताए । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहहरूले विद्यालय खुलाएका हुन् । एउटै जिल्लामा पनि फरक-फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरू भने अन्योलमा परेका छन् ।
बिक्री हुन थाल्यो फोहोर, रेडबुलका बोतल प्रतिकेजी ८० रुपैयाँ
काठमाडौं । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १० रुपैयाँ, रेडबुलका बोतल प्रतिकेजी ८० रुपैयाँ, एचडिपी प्लास्टिक प्रतिकेजी ८ रुपैयाँ, पानीका बोतल प्रतिकेजी १० रुपैयाँ, फलाम प्रतिकेजी १५ रुपैयाँ, सिसा प्रतिकेजी १ रुपैयाँ र टिन प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका-१, २, ७, ८, ९ र ४ को केही भागका १ हजार ७६५ घरबाट फोहोर सङ्कलन गर्छ । दुई वटा ट्याक्टर, दुईजना चालक र दुईजना सहचालक राखेको समितिले शनिबारबाहेक साताको ६ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले २० हजार रुपैयाँ आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । पानीको मुहान र बस्तीलाई फाइदा फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ । फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्क लगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो । तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानी लगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताए । त्यसैगरी फोहोर फाल्ने ठाउँ तलपट्टि खानेपानीको ट्याङ्की छ । उक्त पानी तम्घास बृहत् खानेपानी उपभोक्ताको ट्याङ्कीमा जम्मा भई तम्घास बजारका मानिसले पिउँछन् । फोहरमैला व्यवस्थित नहुँदा खानेपानी समितिमाथि पनि थुप्रै पश्न उठेका थिए । फोहोर बिक्री हुन थालेपछि खानेपानीको मुहान शुद्ध हुने स्थानीय उपभोक्ता सरस्वती सर्तुङ्गेले बताए । फोहोर व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले सहयोग गरेको छ । नगरले १३ लाख ८० हजार रुपैयाँमा जमिन सम्याएपछि मात्रै फोहोर व्यवस्थापन एवं बिक्री सुरु गरिएको हो । उक्त रकममध्ये हालसम्म रु सात लाख भुक्तानी भएको छ भने ६ लाख ८० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । नगर प्रमुख खिलध्वज पन्थीले बजारलाई सरसफाइ राख्नु नगरको दायित्व भएकाले र यसलाई समितिले सहयोग गरेको बताए । उनले फोहोर बिक्रीबाट एकातर्फ समितिलाई आम्दानी भएको र अर्कोतर्फ बजार सरसफाई भएको भन्दै खुसी व्यक्त गरे । फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक समितिलाई १० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान गर्दै आएको छ । त्यसैगरी, समितिका अध्यक्ष पन्थीले अब कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने योजना रहेको बताए । अहिलेसम्म कुहिने फोहोरलाई ओख्रेनीकै छेउको खोल्सामा पुर्ने गरिएको छ । अब करिब १४ लाख रुपैयाँ लागतमा उक्त फोहोरलाई कम्पोष्ट मल बनाउने गरी काम सुरु गरिने उनको भनाइ छ । ‘नगरपालिकासँग समन्वय भइरहेको छ, कुहिने फोहोरको पनि व्यवस्थापन गर्दा सहर झनै सुन्दर हुन्छ । सुन्दर रेसुङ्गा नगर बनाउन सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने । तम्घासमा २०६१ सालदेखि नगर विकास तथा वातावरण सरसफाइ समितिले फोहोर व्यवस्थापन गर्दै आएको छ ।