नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो । महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए । यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ । सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।
२३ वटा स्थानीय तहले अहिलेसम्म ल्याएनन् बजेट
काठमाडौं । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान भएपनि देशभरका २३ स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रमअहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसकेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आव २०८३र८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ । यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ । मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ । समयमै बजेट ल्याउन नसकेका पालिकाहरुमा मधेश प्रदेश १० वटा पालिकाहरु छन् । जसअन्र्तगत गरुडा, कटहरिया, फतुवा विजयपुर नगरपालिका,सुखीपुर नगरपालिका, जलेश्वर नगरपालिका,कमला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र विदेह नगरपालिका रहेका छन् । धोबिनी र छिपहरमाई गाउँपालिकाले पनि समयमै बजेट ल्याउन सकेनन् । कोशी प्रदेशका धरान उपमहानगरपालिका, आठराई गाउँपालिका र छथर जोरपाटी गाउँपालिका रहेका छन् । बजेट ल्याउन नसकेका पालिकाहरुमा बागमती प्रदेशबाट मेलम्ची नगरपालिका र राक्सिराङ गाउँपालिका रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट बागलुङ नगरपालिका, लुम्बिनी प्रदेशबाट कोटहीमाई गाउँपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिका रहेका छन् । कर्णाली प्रदेशबाट कालीमाटी गाउँपालिका, मुड्केचुला गाउँपालिका रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट बान्नीगढी जयगढ गाउँपालिका र टीकापुर नगरपालिकाले समयमै बजेट ल्याउन सकेनन् ।
काठमाडौं महानगरपालिकामा ‘नमस्ते सेवा अभियान’ सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ । सोमबार (आज) देखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै कामपाको प्रमुख सुनिता डङ्गोलले महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशनसमेत दिइन् । ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन । जिम्मेवारीप्रतिको इमान्दारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन्’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् , ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस् । दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सवल, सक्षम र गुणस्तरीय रूपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो । आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस् ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राखिन् । कामपा प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेको छ । कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने, ‘यस अभियानबाट नागरिक र प्रहरीको सम्बन्धलाई नजिक र बलियो बनाउन चाहेका छौं । अभियानका क्रममा नागरिकलाई उहाँहरूको दायित्वका विषयमा बुझाउनेछौं ।’ ‘परिवर्तित सन्दर्भमा नागरिक र प्रहरीबीचको सम्बन्धका विषयमा नयाँ कार्यक्रम थालनी जरुरी थियो । कामपा प्रहरी बलले यसको प्रारम्भ गरेको छ । यो सकारात्मक कुरा हो,’ कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने । कामपाको चलअचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधारलगायत क्षेत्रमा महानगर प्रहरी बलले काम गरिरहेको छ ।