गाउँपालिकामा ‘एक घर एक धारा’ भन्ने अभियानै चलाएका छौंं – अध्यक्ष गुरुङ्ग
गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने ‘दुधपोखरी गाउँपालिका’ एउटा सुन्दर गाँउपालिकाको रुपमा परिचित छ । सामुद्रीक सतहदेखि ४ हजार ३ सय मिटरको उचाईमा अवस्थित यो गाउँपालिकाको नाम भने यसै क्षेत्रमा रहेको दुधपोखरी कुण्डबाट साभार गरिएको हो । हिमालको काखमा रहेको दुधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रुपमा पनि प्रसिद्ध छ । १ सय ५५ दशमलव ३३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ६ ओटा वडा रहेका छन् भने यहाँको कूल जनसंख्या १० हजार ९ सय ७५ रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे केही बताइदिनुहोस् न विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि निक्कै असर पुर्यायो । सो वेला नियमित औषधि खानुपर्न विरामीहरुलाई निःशुल्क औषधी वितरण गरेका थियौं । गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टिन स्थापना गरेका थियौं । गाउँपालिकाभित्र ५ बेडको आइसोलेसन कक्ष व्यवस्थित तरीका बाट निर्माण गरेका थियौं । विदेश र बाहिरी जिल्लाबाट आएकालाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । कोरोनाले शिक्षाका साथै विकास निर्माणका काममा पनि असर पुर्यायो । तर अहिलेको अवस्था भने सामान्य भइसकेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् नि ? गाउँपालिका भित्र ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । ३ करोड रुपैयाँ बराबरको बजेटमा यो योजनातर्फ काम भइरहेको छ । विद्युतको योजना पनि छ । करिब २ करोड रुपैयाँको बजेटमा विद्युतको काम पनि भई रहेको छ । करिब ७ करोड रुपैयाँ बजेट सडक निर्माणका लागि छुट्याएका छौं । शैक्षिक विकासको लागि १ करोड रुपैयाँ बजेट छ भने स्वास्थ्य क्षेत्रमा १ करोड २० लाख रुपैयाँ बजेट छ । गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् जस्तो लाग्छ ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । निर्वाचित हुनुभन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । खानेपानीको राम्रो व्यवस्था थिएन । बजेटको आकार सानो थियो । स्वास्थ्य सेवातर्फ सर्वसाधारणको पहुँच खासै थिएन । कर्मचारीहरु थेरै थिए । नीति नियम कानुन राम्रो थिएन । विद्यालयका भवनहरु व्यवस्थित थिएनन् । म निर्वाचित भएर आइसकेपछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रमा व्यापक परिवर्तन आएको छ । विकास निर्माणका निक्कै काम गरिसकेका छौं । सडक निर्माणको काम भईनै रहेको छ । प्रथामिक स्वास्थ्य सेवा सञ्चालन भएको छ । गाउँपालिका भित्र ३० वटा विद्यालयहरु छन् । विद्यालय भवनको निर्माण भएको छ । ‘एक घर एक धारा’ अभियानै चलाएका छौंं । यिनै तथ्यहरुले पनि मेरा कुरालाई पुष्टि गर्छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी दिनको लागि गाउँपालिकामा ठुला ठुला कलकारखाना रहेको छैन । तर सिप अनि क्षमताअनुसार युवालाई कृषि विकास र पशुपालनमा लगाएका छौं । विकास निर्माणको काममा पनि धेरै युवाहरुलाई लगाएका छौं । युवाको लागि कार्यक्रम पनि छुट्यााएका छौं । युवालाई तालिम, सिप लगायत दिनको लागि १ करोड रुपैयाँ बजेट छुट्याएका छौं । गाउँपालिकाले कृषि विकासका क्षेत्रमा के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि क्षेत्रको विकासका लागि भनेर धेरै काम गर्दै आइरहेका छौं । यहाँका धेरैजसो नागरिकहरु खेती गर्छन् । हामीले कृषि विकासको लागि अनुदानको व्यवस्था मिलाएका छौं । यहाँ कृषि प्राविधिकहरु पनि रहेका छन् । मकै, धान, कोदो जस्ता उत्पादन गाउँपालिकामा हुने गरेको छ । केहि विउहरु निःशुल्क रुपमै वितरण गर्दै आएका छौं । बेमौसमी तरकारीको विउ गाँउपालिकाले निःशुल्क उपलब्ध गराउँदै छ । हाम्रो गाउँपालिकामा आलुको उत्पादन मनग्गे हुने गरेको छ । आलुको विउ हामीले ५० प्रतिशत अनुदानमा दिएका छौं । कृषकको लागि कृषि सम्बन्धि तालिमको योजना बनाएका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच बनाएको छ । कृषकहरुले पशुपालन पनि गर्ने गरेका छन् । तपार्इंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिका ठुला व्यापारीक कम्पनीे त छैनन् नै तर उद्योगको रुपमा भने कृषि उद्योग रहेको छ । कृषकले कुखुरा, भेडा, भैँसी पालन गरेका छन् । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । पशुपालनमा पनि जोड दिन्छु । तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाँउपालिकालाई फरक र अरु गाउँपालिकाका भन्दा विकसित बनाउने योजना रहेको छ । तर सिमित बजेट छ । गाँउपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालन भएका छन् । शिक्षासम्मको पहुँच सबैलाई सहज होस् भन्ने मेरो योजना रहेको छ । गाँउपालिकाका नागरिकको अवश्यकता पनि पुरा गर्ने सोच बनाएका छौं । स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई राम्रो बनाउने योजना छ । तपाईंले गरेको कार्य प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । मैले गरेको कममा जनताको गुनासो आउने गरेको छैन । नगारिकहरु सन्तुष्ट भएकोले पनि होला म पनि सन्तुष्ट भएको । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? खासै ठुलो समन्वय त भएको छैन भन्दा पनि हुन्छ । प्रदेश सरकारबाट समपुरक बजेट आउने गरेको छ । विकास निर्माणको काममा सामान्य सहयोग मिलेको भएपनि ठुलो योजना तथा कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन सकेको छैन । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य समस्या आई पर्छ । विकास निर्माणका काममा पनि समस्या आउँछ । जनताको अपेक्षाको तुलनामा बजेटको आकार भने सानो छ । विकासनिर्माणका धेरै कामहरु गर्न बाँकी नै छ । धेरै ग्रामीण भुभाग रहेकोले गाउँपालिकामा जनसंख्या थोरै छ । नेपाल सरकारले जनसंख्याको आधारमा बजेट पठाउने गरेको छ । स्थानिय स्रोत साधनको कमी छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? जनसंख्याको आधारमा बजेट आउने गरेको छ । समपुरक बजेट पठाउने गरेको छ । केन्द्रबाट हामीले सोचे अनुसारको बजेट आउने गरेका छैन । विकास निर्माणको काममा केन्द्रले धेरै सहयोग पुर्याएको छैन । ठुला कार्यक्रम र योजना केन्द्र सरकारले ल्याउन सकेको छैन ।
विकास निर्माणको काममा केन्द्रले खासै सहयोग गरेको छैन – नगरपालिका अध्यक्ष शेर्पासँगको कुराकानी
बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा पर्ने रमणीय नगरपालिका हो ‘बाह्रविसे नगरपालिका’ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक विशेषता बोकेको नगरपालिका त हो नै साथै कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । पूर्वमा दोलखा अनि पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिकासँग सीमा जोडिएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । नेपाल र चीनलाई जोड्ने अरनिको राजमार्ग र भोटेकोशी नदी यहाँको पहिचान हो । समुद्र सतहदेखि कम्तीमा ५ सय मिटर अनि बढिमा ४ हजार मिटरसम्मको उचाईमा फैलिएको यो नगरपालिकाको जनसंख्या २६ हजार ५ सय ३५ छ । थामी समुदाय यस नगरको आदिवासी लोपोन्मुख जनजाती अन्तर्गत पर्दछ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा नगरपालिकाले कस्ता भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहँदै सो नगरपालिकाका अध्यक्ष निमफुन्जो शेर्पासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । नगरपालिकामा कोरोनाले पुर्याएको असर बारे केही बताइदिनुस् न हाम्रो नगरपालिकामा कोरोनाले ठुलो असर पुर्याएको छ । कोरोनाको बेलामा नागरिक धेरै त्रसित भएका थिए । केही नगारिकलाई कोरोनाको संक्रमण पनि भएको थियो । सो समयमा हामीले नगरपालिका भित्र ८० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । व्यवस्थित ५० बेडको आइसोलेसन कक्ष पनि बनाएका थियौं । जम्मा २८ जना मानिसलाई आइसोलेसनमा राख्नुपरेको थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । नेपालमा लकडाउन भएको समयमा नगरपालिका भित्रका सबै विद्यालय बन्द भए । हाल भने नगरपालिकामा कोरोनाको प्रभाव घट्दै गएको कारण जनजीवन सामान्य बन्दै गएको छ । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । कृषि सहकारीसँग साझेदारी पनि गरेका छौं । कृषि गर्ने किसानलाई हामीले अनुदानको व्यवस्था मिलाएका छौं । कृषकको लागि मलको पनि व्यवस्था मिलाएका छौं । नगरपालिका भित्रका नागरिकलाई निःशुल्क रुपमा तरकारीका विउहरु पनि उपलब्ध गराएका छौं । नगरपालिका भित्र कफी, आलु, मकै, काउली लगायत उत्पादन हुने गरेको छ । कृषिलाई नीर्वाहमुखी मात्र होइन कि व्यवसायिक नै बनाउने तर्फ हामी लागि परेका छौं । नगरपालिका भित्र आधुनिक तरकारी खेती विकास गरिरहेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय राम्रो रहेको छ । प्रदेशका सामाजिक विकास मन्त्री, उद्योगमन्त्री, पर्यटनमन्त्री लगायतसँग पनि हाम्रो समन्वय भइनै रहेको हुन्छ । समन्वय भएको कारणले नै सोचे आनुसारको बजेट प्रदेश सरकारबाट आउने गरेको छ । विकास निर्माण, खोलकुद, कृषि विकास जस्ता काममा पनि समन्वय गर्दै आएका छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ? स्थानीय तहमा काम गरे पछि धेरै चुनौतीहरु आइपर्छन् । बाढि, पहिरोको कारण पनि समस्या आउने गरेको छ । मुख्यतया विकास निर्माणको काममा सामान्य समस्याहरु देखा परिरहेका हुन्छन् । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्रबाट हामीले सोचे अनुसारको बजेट आउने गरेको छैन । विकास निर्माणको काममा केन्द्रले खासै सहयोग गरेको छैन भन्दा पनि हुन्छ । नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? नगरपालिकामा खासै ठुला योजनाहरु त छैनन् पनि । तर पनि १ सय २ मेगावटको हाइड्रो सञ्चालनमा छ । १७ अर्ब रुपैयाँ बराबरको बजेटमा यो हाइड्रो सञ्चालन भएको हो । धेरैजसो सडकहरु विकास निर्माणकै क्रममा रहेका छन् । ५० देखि ६० लाख रुपैयाँ बराबरको सडक निर्माण गर्ने योजना छ । आँखा अस्पतालको पनि निर्माण सम्पन्न भइसकेको छ । नगरपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? नगरपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् भन्नुपर्छ । हामीले आशा गरे अनुसारकै विकास निर्माणका काम भइरहेको हुनाले हामी खुसी नै छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडिको तुलनामा निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? धेरै परिर्वतन आइसकेको छ भन्दा फरक पर्दैन । जनताले समस्या पोख्ने ठाँउ पाएका थिएनन् । बजेट आकार पनि सानो थियो । स्वास्थ्य, सडकको राम्रो पहँुच थिएन । विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका थिएनन् । तर, म निर्वाचित भएर आईसके पछि नगरपालिका भित्रका खान नपाएका मानिसलाई खान दिएका छौं । साथमा ओढ्ने पनि नभएकालाई घरघरमै पुगेर ब्ल्याङ्केटको व्यवस्था गरेका छौं । गुणस्तरीय शिक्षातर्फ ध्यान दिएका छौं । नगरपालिका भित्रका सबै वडा कार्यालयहरुको भवन निर्माण भइसकेको छ । सबै वडामा स्वास्थ्य सेवाको राम्रो पहँुच रहेको छ । सडक निर्माण, खानेपानी लगायतका क्षेत्रमा काम भइरहेको छ । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के छन् जस्तो लाग्छ ? त्यस्तो त धेरै कामहरु रहेका छन् । खेलकुद विकासको लागि खेल मैदान निर्माण गरेका छौं । खानेपानीको राम्रो व्यावस्था मिलाएका छौं । सडक नपुगेको ठाउँमा सडक पुर्याएका छौं । स्वास्थ्य चौकी सबै वडामा सञ्चालन गरेका छौं । नगरपालिका भवनको निर्माण भएको छ । सडक क्रमिक रुपमा कालोपत्रे भइरहेको छ । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाका धेरैजसो युवाजमात कृषि पेशामा आवद्ध रहेको छ । हामीले केही युवाहरुलाई भने विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । हामीले ठाउँ अवस्था अनुसार बाख्रा पालन गर्न अथवा खेती गर्न हौसला दिने गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? पालिकामा सबै भन्दा ठुलो उद्योगको रुपमा इट्टा कारखाना रहेको छ । कागज उत्पादन पनि हुने गरेको छ । कटिंग ढुङगा उत्पादन हुने गरेको छ । तेलको उत्पादन हुने गरेको छ । घर मौरीपालन पनि हुने गरेको छ । कृषकले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका गतिविधी गर्दै आएका छन् । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन कस्ता योजना अघि सार्नुभएको छ ? हामीले स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन पर्यटन, उत्पादन, उद्योग, रोजगारीको सिर्जना लगायतका योजनालाई अघि सारेका छौं । तपाईंले गरेको कार्यप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म त एकदम सन्तुष्ट छु । त्यसैगरी, मैले गरेका कार्यप्रति म मात्र नभएर आम नगरिकहरु पनि सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? सुन्दर, एकिकृत बस्ती, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा मेरो पालिकालाई अब्बल बनाउने मेरो योजना छ ।
गाउँपालिकाका बिरामीले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यवस्था गरेका छौं – अध्यक्ष तामाङ्ग
‘खाँडादेवी गाउँपालिका’ प्रदेश नं. ३ अन्तर्गतको रामेछाप जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । यो गाउँपालिका कूल १ सय ५० दसमलव ७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएर रहेको छ भने यहाँको जनसंख्या ३१ हजार ३ सय ८३ रहेको छ । यस गाउँपालिकामा ९ ओटा वडा रहेका छन् । यसको पूर्वमा मन्थली नगरपालिका, पश्चिममा सुनापति गाउँपालिका अनि उत्तरमा दोरम्बा पर्दछन् भने यसको दक्षिणमा चाहिँ सिन्धुली जिल्ला पर्दछ । खाँडादेवी गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्ता भूमिका खेल्दै आएको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तामाङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे अलिकति बताइदिनुस न हामीले गाँउपालिका भित्र महामारीको सुरुआती चरणमै पूर्व तयारी गर्यौं जसका कारण खासै ठुलो असर हुन पाएन । हामीले सो वेला यहाँ ४५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने १५ बेडको आइसोलेसन कक्ष बनाएका थियौं । यहाँ कसैलाई पनि संक्रमण देखिएन । विद्यालय बन्द भएका कारण शिक्षा क्षेत्र चाहिँ नराम्ररी प्रभावित भएको थियो । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका हुन् ? मन्थली चौरीबाट गाल्बा जाने सडक ११ कि.मि. र त्यसैगरी दोलखा जोडिने सडक पनि ११ कि.मि. नै कालोपत्रे गर्ने कार्य भइरहेको छ । बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई दिएका थियौं त्यहि आधारमा एउटा सडक ३४ करोडको लागतमा र अर्काे सडक भने ३६ करोड रुपैयाँको लागतमा कालोपत्रे भइरहेको छ । त्यसैगरी खैरेनीबाट गाल्बा जाने सडक चहिँ ३ कि.मि. कालोपत्रे भइसकेको छ । हाम्रो गाउँपालिका सुख्खा क्षेत्रमा पर्छ । खोलाको पानीलाई ड्याम बनाएर सिँचाइयोग्य बनाउनका लागि हामीले डिपिआर गरेका छौं । ४ करोड ८० लाख रुपैयाँ बराबरको भ्युटावर गाउँपालिकाका भित्र निर्माण भईरहेको छ । गाउँपालिकाको माथिपट्टि १३ फिट अग्लो शिव र बुद्धको मन्दिर निर्माण गरेका छौं । प्रदेश र संघको साझेदारीमा १५ करोड रुपैयाँ बराबरको अस्पताल निर्माण भइरहेको छ । एम्बुलेन्स पनि खरिद गरेका छौं । हाम्रो गाउँपालिका भित्र बिरामी भएका नागरिकले निःशुल्क रुपमै एम्बुलेन्स सेवा पाउने व्यावस्था गरेका छौं । गाउँपालिका भित्र रहेको सबै वडा भवनहरुको निर्माण भइसकेको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ? यहाँका किसानले यदी १० लाख रुपैयाँ बराबरको प्रोजेक्ट पेश गर्छन् भने उनीहरुले ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । बाँकी चाहिएको ५ लाख रुपैयाँ हामीले अनुदानमा दिने व्यवस्था मिलाएका छौं । गाउँपालिका भित्र कृषि ऋण कार्यक्रम पनि रहेको छ । किसानहरुले पैसा फिर्ता गरेको आधारमा व्याज मिनाहा तथा बैंकमार्फत फेरी ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हामी निर्वाचित भएपछि किसानहरुकै लागि भनेर १ करोड रुपैयाँ बराबरको कृषि कोष निर्माण गरेका छौं । हामीले प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरेका छौं र ती ठाउँहरुमा उत्पादन सुरु हुन पनि थालिसकेको छ । किसानलाई तरकारीको न्युनतम शुल्क निर्धारण गरेर गाउँपालिकामा पेश गर्नु होस्, यदी बिक्रि गर्न सक्नुभएन भने हामी बेचिदिन्छौं भनेका छौं । गाउँपालिका भित्र बाख्रा पालन, भैँसी पालन, कफि उत्पादन तथा चिया उत्पादनका क्षेत्रहरु पनि रहेका छन् । किसानले केराको बगान बनाउने भनेर गाउँपालिका भित्र ६ हजार केराको विरुवा लगाएका छन् । उनीहरुलाई गाउँपालिकाले निःशुल्क रुपमै केराको विरुवा उपलब्ध गराएको हो । कृषिमा धेरै किसानहरु आत्मनिर्भर भएका छन् । कृषिलाई जीवन निर्वाहको साधन मात्र होइन व्यावसाय पनि बनाउनु पर्छ भनेर हौसला दिने गरेका छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । आशा गरे अनुरुप विकास निर्माणका कामले गति लिइरहेको हुनाले हामी पनि खुसी नै छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसके पछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? म निर्वाचित हुनुभन्दा अगाडि र भइसके पछि यहाँ धेरै परिर्वतन आएको छ । पहिले यहाँ सडकको अवस्था राम्रो थिएन । स्वास्थ्य सेवाको पहुँच सवैमा पुग्न सकेको थिएन । शिक्षा बाट धेरै वालबालिकाहरु बन्चित थिए । विद्यालयको अवस्था त झन् लथालिङ्ग नै थियो । धेरै ठाउँमा काठका पोल थिए । सबै गाउँमा विद्युत पुगेको थिएन पनि । तर आज उपरोक्त समस्याहरु समाधान हुँदै गएका छन् । ९ वटा वडाको बिच सम्म हामीले बाटोलाई ग्राबेल गरिसकेका छौं । शिक्षा क्षेत्रतर्फ पनि सुधार आउँदै गएको छ । १२ वटा मा.वि तहका विद्यालयहरुको भवन निर्माण गरेका छौं । गाउँपालिकाको सबै ठाउँमा विद्युत पुगेको छ । काठका पोल हटाएर फलामको पोल गाडेका छौं । कृषिमा आधुनिकिकरण हुन थालेको छ । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभएको छ ? मैले भर्खरै पनि भनिसकेँ सडक, विजुली, शिक्षा, स्वास्थ्य लगायतमा ल्याइएको सुधारहरु सबै नै सम्झिन लायक काम हुन् । त्यसका अलावा १२ सय घरधुरीमा पानीको व्यवस्था गरका छौं जुन गर्वकै कुरा हो । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले त्यसका लागि स्वरोजगार कोषसँग साझेदारी गरी २ करोड रुपैयाँ बजेट बिनियोजन गरेका छौं । युवाका लागि हामीले तालिम तथा कार्यक्रमहरुको व्यवस्था गरेका छौं । यदी युवाले कामको प्राजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउँछौं । २ लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण पनि दिन्छौं । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायत गर्दै आएका छन् । गरिब परिवारका भएका किसानलाई १ लाख रुपैयाँ सम्म अनुदान दिने व्यावस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगार दिने गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा ठुला उद्योग छैनन् भन्दा पनि हुन्छ । यहाँ खेती किसानी गर्ने, बाख्रा पालन गर्ने तथा कुखुरा पालन गर्नेहरु छन् । यसका साथै साना तथा मझौला किराना पसल सञ्चालन गरेर बस्नेहरु पनि छन् । सबै भन्दा धेरै कर तिर्ने कम्पनी कुन हो ? अब ठुला उद्योग, कम्पनी वा कलकारखाना नभइसकेपछि धेरै कर तिर्ने भन्ने त कुरै आउँदैन । बरु यहाँको सम्पती कर नै दिगो करको रुपमा रहेको छ । खोलाको बालुवा, गिट्टी लगायत बाट कर आउने गर्छ । यस्ता स्रोतहरु बाट गाउँपालिकाले वार्षिक ३ करोड रुपैयाँ जति कर संकलन गर्ने गरेको छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई बढि जोड दिनुहुन्छ ? यदी ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिकको सन्तुटिलाई नै म आफ्नो सन्तुष्टि ठान्दछु । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? यस गाउँपालिकालाई मेरो कार्यकालमा नमुना गाउँपालिकाको रुपमा घोषणा गर्ने योजना बनाएको छु । विकास निर्माणको काम अझ पनि धेरै गर्नुछ । यहाँका नागरिकको जीवनस्तर बृद्धि गर्ने, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा व्यापक सुधार ल्याउने लगायतका योजना पनि मैले बनाएको छु । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ नि ? प्रदेश सरकारसँग हाम्रो समन्वय भइरहेको छ । प्रविधिको युग भएकाले हामी धेरैजसो कामको समन्वय अनलाइन बाट नै गर्छौं । आबधिक योजनाहरु बनाएर हामीले प्रदेश सरकारलाई पेश गरेका थियौं । ५ वर्षको योजनामा लक्ष्य पुरा हुने सम्भावना हामीले देखेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्दा रहेछन् ? स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरु देखा पर्ने गरेको छ । कानुन कार्यविधि तयार गर्दाको समयमा व्यवहारमा ढाल्न खोज्छ । हामीले कानुनको पालना पनि गर्नुपर्ने हुन्छ । त्यसैले यसमा पनि समस्या रहेको छ । गाउँपालिका भित्र रहेका नागरिकको खासै स्तरोन्नती हुन सकेको छैन । जहाँ चेतनाको विकास भएको छ त्यस ठाउँमा विकास पनि धेरै भएको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट हामीले राम्रै सहयोग पाएका छौं । त्यहींबाट बजेट आउने गर्छ । ४ प्रकारको बजेट अनुदानमा दिने गरेको छ । केन्द्र सरकारले वित्त हस्तान्तरणमा बजेट पठाउने गरेको छ । जनसंख्या, भौगोलिक स्थिती, गरिबी लगायतका कुराहरुमा आधारित रहेर बजेट आउने गरेको छ ।