केन्द्र सरकार बाट सजिलै बजेट आउँदैन, धेरै पल्ट माग्ने कराउने गर्नुपर्छ – गाउँपालिका अध्यक्ष पुन
‘धवलागिरी गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको म्याग्दी जिल्लामा पर्ने एउटा रमणिय गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । धवलागिरी गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी फरक– फरक विशेषता बोकेको छ । मुलुककै करीब मध्य भागमा पर्ने म्याग्दी जिल्ला एउटा नगरपालिका र पाँच ओटा गाउँपालिका मिलेर बनेको छ । धवलागिरी गाउँपालिका भने म्याग्दी जिल्लाको उत्तर पश्चिममा अवस्थित छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु, कोरोनाले शैक्षिक क्षेत्रमा पुर्याएको असर, युवालाई रोजगारी सृजनाका लागि गरिएका कामकर्तव्य लगायतका विषयमा केन्द्रीत रहँदै सो गाउँपालिकाकी अध्यक्ष थमसरा पुनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश: गाउँपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाको समयमा गाउँपालिकामा नागरिकहरु त्रसित भएका थिए । विकास निर्माणको काममा पनि कोरोनाले निक्कै असर पुर्याएको थियो । कोरोनाकै कारण गाउँपालिकामा एक जनाको मृत्यु पनि भयो । सबैभन्दा बढि त शैक्षिक क्षेत्रमा नराम्रो असर पुग्यो । कोरोनाको समयमा हामीले क्वारेन्टिन तथा आइसोलेसन स्थापना गरेका थियौं । सो वेला बाहिरी जिल्ला बाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थियौं । टेन्डर गरेका विकासका कामहरु पनि कोरोनाले गर्दा रोकिएका थिए । तर हालको अवस्था सामान्य रहेको छ । कोरोनाको प्रभाव घट्दै गएका कारण जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । गाउँपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हाल त विद्युत र सडकलाई नै प्राथमिकता दिएका छौं । साथै भौतिक पुर्वाधारको विकासलाई पनि ध्यान दिएका छौं । हाम्रो गाउँपालिकामा ७ ओटा वडा रहेका छन् जसमध्ये ६ ओटा वडामा कच्ची सडक रहेको छ । हामी विकासको सुरुवाती चरणमा छौं र क्रमैसँग यस्ता कुराहरुलाई सम्वोधन गर्दै अघि बढ्नेछौं । हाल यहाँका ८५ प्रतिशत घरधुरीसम्म विद्युत पुगिसकेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? प्रदेश सरकारसँग समन्वय त गरिरहेका छौं तर पनि त्यहाँ बाट सोचे अनुसारको बजेट आउन सकेको छैन । जनसंख्या, मानव विकास सुचकाङ्क तथा भुगोलअनुसारको बजेट आउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । सिँचाइ विभाजन र पूर्वाधार बाट कार्यान्वयन हुने गरी ३ करोड रुपैयाँ बजेट प्रदेश सरकार बाट आउने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा साना देखि ठुला विभिन्न खाले समस्या देखा पर्ने गरेका छन् । यहाँ पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभाव छ । सानातिना गुनासाहरु लिएर आउने पनि हुनुहुन्छ तर विकास निर्माणको काममा चाहिँ कहिलेकाहिँ समस्या आउने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग पाउनुभएको छ ? केन्द्र सरकार बाट सामन्यकरण, विशेष अनुदान, समपुरक बजेटहरु आउने गरेको छ । सजिलो तरीकाले चाहिँ आउँदैन, धेरै पल्ट माग्ने कराउने गर्नुपर्छ । बजेटको लागि म काठमाडौं गएर पटक–पटक नेताहरुलाई भेट्ने गर्छु । हाम्रो मानव विकास सुचकाङ्क कम रहेको छ । यसैबाट थाहा हुन्छ गरिबी धेरै नै रहेको छ भनेर । तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ? ९ करोड रुपैयाँ बराबरको डिपिआरमा हामीले अस्पतालको निर्माण गर्न लागेका छौं । सडकमा रहेका बालबालिकालाई पढाउनको लागि भनेर हामीले विद्यालयको निर्माण गर्न लागेका छौं । यसका लागि हामीले २० करोड रुपैयाँको डिपिआर गरेका छौं । सडक निर्माण र खानेपानीमा गौरवका योजनाहरु पनि गाउँपालिकामा रहेका छन् । ठुला योजना पूरा गर्न हामीले कन्सल्टेन्सी हायर गरेर डिपिआर तयार पारेका हुन्छौं । टेन्डरको सुचना राष्ट्र दैनिक पत्रिकामा दिने गरेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रवल सम्भावना बोकेको ठाउँ हो । विश्वको ७ औं नम्बरमा आउने अग्लो धवलागिरी हिमाल हाम्रै गाउँपालिकामा पर्छ । सानातिना हिमालहरु पनि धेरै संख्यामा रहेका छन् । हामी निर्वाचित भएर आएपछि गाउँपालिका भित्र पदमार्गको विकास गरेका छौं । यहाँका मठ मन्दिरको पनि प्रचारप्रसार गरिरहेका छौं । पर्यटकहरुको लागि हामीले होमस्टेको पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि र पशुपालनमा हामीले धेरै काम गर्न बाँकी छ । कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकिएको छैन । हामीले सामान्य रुपमा फलफुलको विउ तथा विरुवाहरु वितरण गर्दै आएका छौं । कुनै विउहरु निःशुल्क वितरण गर्दैछौं भने कुनै विउहरु चाहिँ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेका छौं । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणका कामहरु १०० प्रतिशत नै प्रभावकारी हुन्छन् भन्न सकिँदैन । फेरी बजेटको अभावले पनि यस्ता कामहरु रोकिने अथवा आधा मात्रै पनि हुने गरेको छ । थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यता पनि छ । जे होस्, पहिलेको तुलनामा अहिले विकासको काम प्रभावकारी नै छ भन्ने मान्नुपर्छ । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसके पछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? हामी निर्वाचित हुनु अघि गाउँपालिका भित्र धेरै नागरिकले टुकि बत्ति बाल्ने गरेका थिए । लामो पैदल यात्रा गरेर जीविकोपार्जन गर्ने गरेका थिए । विद्यालयहरु पनि कामचलाउ जस्ता मात्र थिए । सामान्य सिटामोल किन्न पनि धेरै टाढासम्म धाउनु पर्ने अवस्था थियो । तर हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि उक्त समस्याहरु समाधान गर्दै लगेका छौं । शौचालयको व्यावस्थापन भएको छ । सामुदायिक स्वास्थ्य चौकी स्थापना गरेका छौं । बिजुली नपुगेका गाउँमा हामीले सोलार समेत वितरण गरेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवालाईनै लक्षित गरेर गाउँपालिकामा कार्यक्रम त छैनन् तर पनि विकास निर्माणको काममा युवाहरुलाई लगाएर हामीले थोरबहुत रोजगार दिइरहेका छौं । कोही युवाहरुलाई भने कृषि क्षेत्रमा पनि अगाडि सारेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? यहाँका ११ सय २९ घरधुरीमध्ये आधिकांश घरमा बिजुली पुर्याउने योजना बनाएको छु । खानेपानीको उचित व्यवस्थापन हुनेछ । ७ ओटा वडामध्ये ६ ओटामा कच्चि भएपनि सडक पुग्नेछ । स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनेछ । बाढिपहिरोको कारण स्थानान्तरण गर्नुपर्ने विद्यालयहरुलाई स्थानान्तरण गर्ने र नयाँ भवनको निर्माण गरी पठनपाठन कार्यलाई निरन्तर रुपमा अघि बढाइनेछ । सडकहरु मार्फत् मानिसले विना झन्झट थोरै मुल्यमै सामान ढुवानी गर्ने अवसर पाउनेछन् ।
विकास निर्माणको काममा केन्द्र सरकारले सहयोग गरेको छैन : गाउँपालिका अध्यक्ष घलेसँगको कुराकानी
‘क्व्होलासोथार गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने सुन्दर गाँउपालिकाका रुपमा परिचित छ । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित पनि छ । गुरुङ्ग समुदायको बाहुल्यता भएको यो गाँउपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्रकिृतिक विशेषता बोकेको त छ नै साथै एसिया महादेशको नमुना गाउँ मानिएको घलेगाँउ र भुजुङ पनि यहि गाउँपालिकामा पर्नुले अझ सुनमा सुगन्ध थपिदिएको छ । नेपालकै दोश्रो होम–स्टेको अवधारणा पनि यसै गाउँपालिका बाट सुरु भएको हो । गुम्बा, मठ–मन्दिर, भेष–भुषा, चाड–पर्व लगायतका विषयमा अध्ययन गर्नेका लागि यो गाउँपालिका एउटा गन्तव्यस्थल नै हो । घाँटु सोरेठि नृत्यले मुग्ध बनाउने यस ठाउँमा पर्यटन, चिया बगान, कफि बगान, अलौंची खेती र भेडा पालन लगायतलाई सर्वसाधारणले आय आर्जनको स्रोत बनाउँदै आएका छन् । सेता हिउँले ढाकिएको हिमाल हेर्नको निम्तिी भ्यु–टावर, गुरुङ समुदायमा केन्द्रीत संग्रहालय एवं घले राजाको पार्कले पनि गाउँपालिकाको सुन्दरतालाई थप्ने काम गरेको छ । निःशुल्क इन्टरनेटको सुविधा र सौर्य उर्जाको प्रयोगका निम्ति सर्वसाधारणलाई प्रोत्साहन गर्दै आएको यस गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, कोरोनाले शैक्षिक क्षेत्रमा पुर्याएको असर, रोजगारी सृजना गर्नमा गाँउपालिकाले खेलिरहेको भुमिका लगायतका विषयमा केन्द्रीत हुँदै सो गाँउपालिकाका अध्यक्ष प्रेम वहादुर घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाको कारण गाँउपालिकामा हुने विकास निर्माणको काममा असर पुग्यो । कोरोनाकालमा हामीले सम्पूर्ण वडाहरुमा क्वारेन्टिन बनायौं । गाँउपालिका भित्र ११० बेडको क्वारेन्टिन स्थापना गर्यौं । सो वेला बाहिरी जिल्लाबाट आउनेलाई हामीले गाँउपालिका प्रवेशमा रोक लगायौं । कोरोनाकै कारणले गाँउपालिकामा रहेका कोहि पनि नागरिकको ज्यान जान भने पाएन । हिजोआज कोरोनाको प्रभाव खासै छैन पनि । यहाँका नागरिकको जीवन सामान्य बनिसकेको छ । गाँउपालिकामा कस्ता किसिमका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । गाँउपालिकाको सबै वडामा सडक र बिजुली पुगेको छ । भौतिक निर्माणका काम पनि गरिरहेका छौं । सिँचाइ र विद्यालयका भौतिक पुर्वाधार आदिलाई पनि प्राथमिकता दिँदै अघि बढेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ नि ? स्थानीय सरकार र प्रदेश सरकार बिच समन्वय गरेर नै हामी अगाडि बढिरहेका छौं । मागे जति बजेट प्रदेश सरकार बाट आइरहेकै छ । विकास निर्माणको काममा पनि प्रदेश सरकारको सहयोग पाएका छौं । गाँउपालिकामा बन्न लागेको ३५ कि.मि बाटो पिच गर्नमा पनि प्रदेश सरकारको सहयोग मिलेको छ । विकास निर्माणको काम देखि लिएर अन्य काममा प्रदेश सरकारले सहयोग पुर्याएको छ । बजेटको कुरा गर्नुपर्दा चाहिँ यो वर्ष ७० करोड रुपैयाँ प्रदेश सरकार बाट आएको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा सानातिना समस्या देखा परिरहन्छन् । मुख्य रुपमा भन्नुपर्दा विकास निर्माणको काममा कतैकतै समस्या देखा पर्ने गरेको छ । केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारमा मेरो गुनासो रहेको छ । केन्द्र सरकार बाट खासै सहयोग मिलेको छैन । केन्द्र सरकार बाट योजना आएको छैन भन्दा पनि हुन्छ । विकास निर्माणको काममा पनि केन्द्र सरकारले सहयोग गरेको छैन । गाँउपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाँउपालिकामा गरिएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । गाँउपालिकाको सबै वडामा सडक पुगेको छ । खानेपानी र बिजुली सबै ठाउँमा पुगेको छ । विकास निर्माणका धेरै कामहरु हामीले गरिरहेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? अहिले गाँउपालिकामा धेरै परिवर्तन आइसकेको छ । म निर्वाचित हुनु अघि यहाँ सडक, खानेपानी, बिजुली पुग्न नसेकेका ठाउँहरु धेरै थिए । तर आज यस्तो सुविधा पर्याप्त मात्रामा उपलव्ध भइसकेको छ । पहिला सेवा प्रवाहमा पनि कठिनाइ आइरहेको थियो । हाल यो समस्या हटिसकेको छ । अहिले हामीले तरकारी खेती पनि सुरु गरेका छौं । सडकहरुलाई कालोपत्रे गर्ने काम पनि सुरु भइसकेको छ । तपाईंले गरेको विकास निर्माणको काममा त्यहाँका नागरिकहरु सन्तुष्ट छन् त ? मैले गरेका विकास निर्माणको काममा गाँउपालिकाका नागरिक खुसि पनि छन् र सन्तुष्ट पनि छन् भन्ने ठानेको छु । मेरो विपक्षी साथिहरु पनि खुसि नै हुनुहुन्छ । हामीले ४० वटा बैठक सभा बस्दा कुनैमा पनि विवाद नहुनुले मेरो कुरालाई पुष्टि गरेको छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटन क्षेत्रका लागि भनेरै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने गरेका छौं । हाम्रो गाँउपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न हामिले कुनै कञ्जुस्याईं गरेका छैनौं । चिरपरिचित घलेगाउँ र भुजुङ हाम्रै गाउँपालिकामा पर्छन् । विभिन्न मठ मन्दिरको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिका भित्र पर्यटकका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असरका साथै हालको शैक्षिक अवस्थाका वारेमा केहि बताइदिनुस् न कोरोनाको प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । नेपालमा लकडाउन भएको समयमा गाउँपालिकाको सबै विद्यालयहरु बन्द भएका थिए । इन्टरनेटको असुविधाका कारण अनलाइन बाट विद्यार्थीलाई शिक्षा दिन सम्भव थिएन । त्यसकारण विद्यालयमै बोलाएर सामाजिक दूरी कायम गर्दै पठनपाठन सञ्चालन गर्यौं । हाल यहाँ कोरोनाको प्रभाव खासै छैन जसका कारण सबै विद्यालयको पठनपाठन निरन्तर रुपमा सञ्चालन भइरहेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? यहाँका युवाहरुलाई ठुला रोजगारीको अवसर दिन नसकेता पनि हामीले विकास निर्माणका काममा साथै कृषि क्षेत्रमा पनि थोरबहुत अवसर दिन सकेका छौं । हामीले आयमुलक काममा युवाहरुलाई लगाएका छौं । गाउँपालिकाका केही युवाहरु बाख्रापालन पनि गरिरहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? आधुनिक कृषि खेती गर्ने योजना गाउँपालिकाले बनाएको छ । कृषिलाई आधुनिकिकरण गर्नका लागि भनेर हामीले ३६ लाख रुपैयाँ बराबरको उन्नत जातको आलुको विउ खरिद गरेका छौं । बढि मात्रामा आलुको उत्पादन हुने भएकाले आलुको विउ खरिद गरिएको हो । हामीले कृषकलाई विउ विजनामा ५० प्रतिशत अनुदान समेत दिने गरेका छौं । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् त ? गाउँपालिकामा ३५ कि.मि बाटो पिच भईरहेको छ । मोटर पुलको निर्माण पनि हुँदैछ जसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ८० लाख रुपैयाँ बराबरको टेन्डरको काम पनि भइरहेको छ । तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाउँपालिकालाई विकसित बनाउने योजना बनाएको छु । ७ करोड रुपैयाँमा स्वास्थ्य भवन बनिरहेको छ र यसलाई पुरा गर्न लागिपरेको छु । कृषि र पर्यटनमा बढि जोड दिँदै यहाँका युवाहरुलाई यसतर्फ प्रोत्साहन पनि गरिरहेको छु । म चाहन्छु कि मेरो कार्यकालमा गरिएका सम्पूर्ण कामहरु एकदमै प्रभावकारी होस् ।
‘एक वडा एक उत्पादन’ भन्ने अभियान चलाएका छौं – नगर प्रमुख खत्री
बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्ने एउटा रमणिय नगरपालिका हो ‘कमलामाई नगरपालिका’ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि चर्चित छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । यहाँका प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदा जीवन्त रहन सक्षम छन् । यो नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृंखलासम्म विस्तारित छ । नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ, नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन्, कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, रोजगारीको अवसर नगरपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः नगरपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको ताजा अवस्थाका वारेमा केहि बताइदिनुस् न विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो नगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । कोरोनाको कारण विकास निर्माण देखि लिएर सबै क्षेत्रमा असर पुर्याएको छ । कोरोना बाट नै यहाँका ५ जनाले ज्यान गुमाउनुपर्यो । नगरपालिका भित्र हामीले क्वारेन्टिन स्थापना गरेका थियौं । हामीले सिन्धुली कोभिड अस्पतालको पनि निर्माण गरेका छौं । हामीले स्थानिय अस्पतालमा आइसोलेसनको सञ्चालन पनि गरेका थियौं । अब नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन । अवस्था सामान्य बन्दै गएको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? प्रदेश सरकारका माननीय, मन्त्री तथा कर्मचारी सबैसँग समन्वय गरेर हामी अगाडि बढि रहेका छौं । सिन्धुलीगढी दरबार बनाउन पनि हामीले प्रदेश सरकारसँग नै समन्वय गर्यौं । नयाँ सडक निर्माण, भएका सडकहरु पिच गर्ने लगायतका योजना छन् । बहुवर्षे योजनामा पनि हामीलाई प्रदेश सरकारले सहयोग गरेको छ । नगरपालिकाको विकास निर्माणदेखि भौतिक पूर्वधारसम्मका योजनाहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेरै अघि बढेका छौं । प्रदेश सरकारको साथ स्थानीय सरकारलाई मिलको छ । हाम्रो नगरपालिकाको एकमुष्ट बजेट १ अर्व १६ करोड १२ लाख रुपैयाँ रहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आईपर्छन् ? स्थानीय तहमा काम गर्दा समस्या धेरै आउने गरेका छन् । सडक निर्माण गर्नुपर्यो भने सिमानाका कुराहरु आउन सक्छ । बजेट विनियोजन गर्ने कुरामा मानिसको अपेक्षा धेरै रहेको हुन्छ । तर हाम्रो बजेट भने अपेक्षा गरेभन्दा थोरै रहेको हुन्छ । भौगोलिक दृष्टिकोणले विकट गाँउपलिकालाई मिलाएर नगरपालिका बनाइएको छ । जे होस् जनता हाम्रो कामसँग सन्तुष्ट नै छन् भन्नुपर्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? नगरपालिकामा केन्द्र सरकार बाट पनि सहयोग भएको छ । केन्द्र सरकारकै सहयोगको कारणले गर्दा ‘उज्यालो नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भनेर गाउँ–गाउँमा बिजुली पुर्याउन संघीय सरकार बाट बजेट ल्याएर हामीले काम गरेका हौं । विकास निर्माणको काममा पनि हामीले केन्द्र सरकारको सहयोग पाइरहेका छौं । ठुला विकासको योजनामा पनि केन्द्र सरकार बाट सहयोग मिलिरहेकै छ । नगरपालिकामा गरेको विकास निर्माणको काम कत्तिको प्रभावकारी भएको छ ? नगरपालिकामा गरेको विकास निर्माणको कामहरु सबै प्रभावकारी भएका छन् । विकासको काम प्रभावकारी भएकाले म यसमा सन्तुष्ट रहेको छु । त्यहाँ भएका विकास निर्माणका कामको उदाहरण दिनुपर्दा के भन्नुहुन्छ ? मुख्यतः सडक सबै ठाउँमा पुर्याउने काम भइसकेको छ । प्रदेश सरकार र संघिय सरकारको समन्वयमा सडकहरु पिच गर्ने कार्य भइरहेको छ । बिजुली वत्ति घर घरमा पुर्याइरहेका छौं भने खर तथा परालको छानो अन्त्य गर्ने अभियानमा हामी जुटेका छौं । मा.वि स्कुलका भवनहरुको निर्माण र व्यवस्थापन गर्ने कार्य गरिएको छ । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि नगरपालिकाका नागरिकमा कस्तो परिर्वतन आएको छ ? नगरिकको आर्थिक स्थितीमा परिर्वतन आएको छ । पहिले यो नगरपालिका दुधमा, मासुमा आत्मनिर्भर थिएन तर आज यी कुराहरुमा आत्मनिर्भर भइसकेको छ । तरकारीमा पनि आत्मनिर्भर भएको छ । सानासाना मझौला उद्योग खोल्न चाहने नागरिकले नगरपालिका बाट विना व्याज विना धितो १ करोड रुपैयाँ नगर स्वारोजगार र १ करोड रुपैयाँ युवा स्वारोजगार पाउन सक्छन् । विभिन्न मजदुरको स्वास्थ्य बीमा भएको छ । ६ सय घर परिवारका २८ सय मान्छे स्वास्थ्य बीमा बाट लाभान्बित भएका छन् । सबै वडामा कृषिका भेटेरिनरीका जेटिएहरुलाई पठाएका छौं । अस्पताल नभएका वडाहरुमा अस्पताल भवनको निर्माण गरेका छौं । नेपाल सरकारबाट प्राप्त निःशुल्क औषधी हामीले जुनसुकै समयमा पनि वितरण गरेका छौं । तपाई निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभयो ? त्यस्ता काम धेरै नै छन् । नेपाली सेनाको सहयोगमा सिन्धुली गढी संंग्रहालय अन्तिम चरणमा पुगेको छ । सिन्धुली गढी दरबारको निर्माण भइरहेको छ । सिद्धलाला मन्दिरमा भ्यू टावर बनिरहेको छ । वडा नं ९ र १० जोड्ने पक्कि पुल टेन्डर भएर चलिरहको छ । नगरपालिकादेखि तीनपाटन गाँउपालिका जोड्ने बाटो ५२ करोड रुपैयाँमा पिच हुने काम अगाडि बढि रहेको छ । नगरपालिकाको वडा नं ६ र ५ जोड्ने पुलको निर्माण भइरहेको छ । वृद्ध बाआमाहरुले निःशुल्क रुपमा आँखाको उपचार पाइरहनु भएको छ । नगरपालिका भित्रका विद्यालय व्यवस्थित रहेका छन् । भवन निर्माणका कामहरु भएका छन् । त्यसैले मैले सम्झिन लायकका काम धेरै भएका छन् भन्दा फरक पर्दैन । बुँदागत रुपमा भन्नुपर्दा नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? नगरपालिकाको ठुला योजनाहरुमा – १. सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), २. सिन्धुली गढी हिलिफीर बन्ने योजना (बजेट ३ करोड रुपैयाँ), ३. सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), ४. नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको प्रजेक्ट), ५. नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् भने नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै नै रहेका छन् । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ नि ? पर्यटन क्षेत्रको प्रचारप्रसार राम्रैसँग गरेका छौं । सिन्धुली गढी हेर्न भन्दै वाह्य तथा आन्तरिक पर्यटकहरुको भिड लागिरहेकै छ । कमलामाई मन्दिरको उचित व्यवस्थापन गरेका छौं भने यस मन्दिरको प्रचारप्रसार पनि गरिरहेका छौं । पर्यटकहरुका लागि होमस्टेको व्यवस्थापन गरेका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्थाका वारे पनि बताइदिनुहुन्छ कि कोरोना भाइरसले नगरपालिका भित्रको शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । कोरोनाको समयमा नगरपालिकामा रहेको सबै विद्यालयहरु बन्द भएको थियो । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामजिक दूरी कयम गर्दै पठनपाठन सञ्चालन गर्यौं । नगरपालिकामा इन्टरनेट तथा रेडियोका माध्यम बाट पनि पढाउने व्यवस्था गर्यौं । हाल गाँउपालिकामा कोरोनको खासै प्रभाव छैन । नगरपालिकामा रहेका सबै विद्यालयको पठनपाठनहरु नियमित रुपमा सञ्चालन भइरहेको छ । विद्यालयमा माक्स, सेनिटाइजर आदिको प्रयोगलाई अनिवार्य गराएका छौं । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले नगरपालिकामा बाँझो जमीन नराख्न तथा खेतीयोग्य जमीनको उपयोग गर्न लगाएका छौं । तरकारी खेती गर्नका लागि टनेल पनि वितरण गरिरहेका छौं । हरेक वडामा एउटा जेटिएको व्यवस्थापन गरेका छौं । विउको साटो विरुवा नै दिने अभियानमा रहेका छौं । एक वडा–एक उत्पादन भन्ने अभियान नगरपालिकाको छ । नगरपालिका भित्र जे उत्पादन हुन्छ त्यसै अनुसारका विउ विजन वितरण गर्दै आएका छौं । नगरपालिकामा विभिन्न खाले तरकारी उत्पादन हुने गरेको छ । अनुदानलाई भन्दा खेती अथवा तरकारी व्यावस्थापन तर्फ जोड दिएका छौं । नगरपालिकाले कृषिमा १ करोड र भेटेरिनरीमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगरपालिकाले रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाले युवा स्वरोजगारका लागि भनेर १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगर स्वारोजगारको पनि कार्यविधि बनिरहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातवरणको विकास गरिरहेका छौं । नगरपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउने गर्छन् ? कोहि खानेपानीको पाइप चाहियो भन्दै आउनुहुन्छ, कोहि रोजगारी चाहियो भन्दै आउनुहुन्छ, कोहि भने स्वास्थ्य सेवा राम्रो हुनुपर्यो भन्नेजस्ता समस्याहरु लिएर आउनुहुन्छ । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा सबै वडामा बिजुली पुग्नेछ । नगरपालिका तरकारीमा आत्मनिर्भर बनिरहेकै छ । सबै वडामा सडक पुर्याउने योजना बनाएको छु । नगरपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । जे होस्, आफूले जिताएकोे जनप्रतिनिधि नगरपालिकको मेयर भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्नेमा विश्वस्त छु ।