काठमाडौ महानगरपालिकाको मतगणना सुरु, कसले मार्ला बाजी ?
काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । यस्तै सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।
कञ्चनपुरकाे लालझाडी–६ मा कांग्रेसका जोशी विजयी
कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन् । यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गरेका छन् । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।
राप्ती गाउँपालिका-९ मा माओवादीका रिमबहादुर विजयी
दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवार गुलाफको फूल १७ र छाता चुनाव चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए । राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।