बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी
गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् । उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेका थिए । यस्तै पालिकाका पाँचवटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भए । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् । रासस
बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी
काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी दुई हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३ हजार १५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।
एक वडाको मतगणनालाई ४० घण्टा
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए । यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ । वडा नं १ मा तीन हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले सुनाए । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ । आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ । वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा ९एमाले०ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका छन् । मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा रहेकाे जनाइएको छ ।