काठमाडौं महानगरले विद्यालयहरूको लेखापरीक्षण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूको लेखापरीक्षण गर्ने भएको छ । काठमाडौं महानगर शिक्षा ऐन-२०७५ को नियम १७ को खण्ड ब बमोजिम महानगर क्षेत्रभित्रका विद्यालयहरूको गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न लागेको हो । 

महानगरपालिकाले ३० दिनभित्र इच्छुक दर्तावाल लेखापरीक्षकले आवश्यक कागजात स्क्यान गरी इमेलमार्फत आशयपत्र पेश गर्नुपर्ने जनाएको छ । आशयपत्र पेश गर्दा कुनै शुल्क नलाग्ने र आवेदकले स्पष्ट सम्पर्क नम्बर तथा इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षकले लेखापरीक्षण गर्ने आशयको निवेदनसँगै लेखापरीक्षण इजाजतपत्र, आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण गरेको प्रमाण, करचुक्ता प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । फर्म वा कम्पनीका हकमा अद्यावधिक प्रमाणपत्रसमेत बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ । हार्डकपी भने स्वीकार नगरिने जनाएको छ ।

यस्तै, संस्थागत विद्यालयका हकमा सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएको इजाजतपत्र र करचुक्ता प्रमाणपत्र भएका कम्तीमा तीन जना दर्तावाल लेखापरीक्षकको सिफारिस गरी महानगरपालिकाको शिक्षा विभागमा पठाउनुपर्नेछ ।

महानगरपालिकाका अनुसार विगतमा महानगरपालिकाबाट नियुक्त भएका लेखापरीक्षकले आफूलाई खटाइएको विद्यालयको लेखापरीक्षण तोकिएको समयमा सम्पन्न नगरेको वा समयमै प्रतिवेदन नबुझाएको भए त्यस्ता लेखापरीक्षकलाई छनोट प्रक्रियामा समावेश गरिने छैन ।

लेखापरीक्षण सम्पन्न भएपछि प्रतिवेदनको एक प्रति सम्बन्धित विद्यालय, एक प्रति शिक्षा विभाग र एक प्रति आन्तरिक लेखापरीक्षण एकाइमा सक्कल रूपमा बुझाउनुपर्नेछ । साथै, प्रतिवेदनको विद्युतीय प्रति पनि महानगरपालिकाले तोकेको इमेल ठेगानामा पठाउनुपर्नेछ । तोकिएको समयमा सक्कल तथा विद्युतीय प्रति पेश नगरेमा नियुक्ति बदर गरी सूचीमा रहेका अन्य लेखापरीक्षकलाई नियुक्त गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

लेखापरीक्षणबापतको पारिश्रमिक काठमाडौं महानगरपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०७५ अनुसार उपलब्ध गराइनेछ ।

Share News