बैंकर, व्यवसायी र उद्योगीको मतदान : कसले के भने ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा बैंकर, व्यवसायी तथा उद्योगीहरूले पनि सक्रियताका साथ भाग लिएका छन् । शुक्रबार देशभर भइरहेको स्थानीय तह निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकरहरुले मतदान गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै अरूलाई पनि मतदानमा भाग लिन आग्रह गरिरहेका छन् । उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौंको सितापाइला स्कुलबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा मतदान गरेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, ‘मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् । उनी आईएमई ग्रुपका अध्यक्ष पनि हुन् । नेपाल उद्योग वाणिज्य महासंघकै पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि काठमाडौंको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोट हालियो, आशा गरौ हाम्रो एक एक भोटले काठमाडौंको मुहार फेरिने छ ।’ यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले पनि काठमाडौं महानगरपालिका वडा नं १ नारायणी हिटी दरबारबाट मतदान गरेका छन् । उनले पनि सामाजिक सञ्जालमा मतदान गरेको तस्वीर राख्दै लेखेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नु भयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।’ यस्तै, पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्रीले पनि मतदान गरेका छन् । उनले आफुले मतदान गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘यो प्रविधिको युगमा ढुंगे युगिन मतदान गरियो, मतगणना गर्न कति दिन लगाउने हुन्, आगामी निर्वाचनमा सबैले प्रयोगमा ल्याइसकेको प्रविधि प्रयोग गर्न पाईयोस् ।’ यस्तै, आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शुक्रबार देशभर स्नाथीय तहको मतदान भइरहेको छ । पछिल्लो अपडेट अनुसार ५० प्रतिशत मतदान सकिएको छ ।
स्थानीय निर्वाचन : यस्ता छन् रोचक र दु:खद घटनाहरू
काठमाडौं । आज देश निर्वाचनमय छ । निर्वाचसँग जोडिएर आज धेरै घटना भएका छन् । आज अहिलेसम्मको अपडेट अनुसार अहिलेसम्मकै जेठो मतदाता तनहुँकी ११३ वर्षिया गोपीमाया पोखरेलले मतदान गरेकी छन् । त्यस्तै बैतडीका ८४ वर्षीय हरिसिंह भाटले आफ्नो मताधिकार प्रयोग गर्न पाए तर उनी घर फर्कन सकेनन् । शुक्रबार दोगेडा केदार गाउँपालिका –३ स्थित सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा अचेत अवस्था ढलेर बेहोस भएका थिए । बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा ७० वर्षीया पुनारा कार्कीलाई अक्सिजनको सपोर्टसहित मतदानस्थल पुगेर मतदान गरेकी छन् । तनहुँको ब्यास नगरपालिका–८ मा स्टेचरमा बोकेर ल्याइएका ९९ वर्षीया विर्खसिं गुरुङको पनि मत खसेको छ । उनको साटो उनका छोरा नारायण गुरुङले गाविस भवन मतदान केन्द्र ‘ख’ बाट मतदान गरिदिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका अन्तर्गत भीमढुंगाको बालबोध मावि मतदान केन्द्रमा ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएकै अवस्थामा मतदान गर्न गएका छन् । यता मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । हुम्लाको चंखेली गाउँपालिका–२, महादेव मावि मतदान केन्द्रमा झडप हुँदा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका थिए । घाइते भएका निर्वाचन अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कावा रोकायलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । त्यस्तै स्याङजामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भए । ज्यान गुमाउनेहरूमा ९ वर्षदेखि ८६ वर्षसम्मका छनन् । स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेम कुमारी कुँवर र ८६ वर्षीय हरिकला कुँवरले ज्यान गुमाएका छन् । त्यस्तै अन्य ज्यान गुमाउनेमा ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर, ७० वर्षीय मुवा कुमारी कुँवर, ४३ वर्षीय पोट कुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर, ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवर छन्। त्यस्तै आज विभिन्न स्थानमा झडप भएको छ । देशका ७५३ मतदान केन्द्रमध्ये १६ स्थानमा झडप भएका छन् । झडपलाई नियन्त्रण गर्न ९ स्थानमा प्रहरीले हवाइ फायर गर्नु परेको छ । उक्त झडपमा परेर सयौं घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ । प्रहरीका अनुसार झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान पुन: सञ्चालनमा आइसकेको छ भने सर्लाहीको धनकौलमा मतदान रोकिएको छ । त्यस्तै झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णलाई एक मतदातालाई ८८ मतपत्र बाँडेको आरोपमा कारबाही गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् । अर्को पनि दु:खद घटना छ । मतदान सुरु हुनुपूर्व प्रहरीले मकवानपुको हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सिमाना फाएरलाइनमा उक्त शंकास्पद वस्तु देखा परेको थियो । त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका-१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको भेटिएको छ । दुवै स्थानको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले डिस्पोजल गरिसकेको छ ।
‘जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिन भन्छन्’
काठमाडौं । ‘भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्’, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिन् । काठमाडौं महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उनले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन् । जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोस पनि व्यक्त गरिन् । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उनको गुनासो थियो । जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाइन् । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गरिन् । ‘मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उनले भनिन् । वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौं सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो, जसले जीते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस् उनले शुभकामना दिँदै भनिन् । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भने, ‘नेताको व्यवहार निर्वाचनअघिकै झैँ भए नगरको मुहार फेरिथ्यो ।’ मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएका हुन् । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनका लागि कामपामा १५६ मतदानस्थल र ३६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । रासस