स्थानीय तह निर्वाचन : सार्वजनिक यातायातदेखि आन्तरिक उडानसम्म बन्द

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । मुलुक संघीयतामा गइसकेपछि शुक्रबार दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । सार्वाजनिक यातायादेखि आन्तरिक उडान बन्द स्थानीय तह निर्वाचनका लागि सरकारले सार्वजनिक यातायातदेखि आन्तरिक उडान बन्द गरेको छ । निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान बन्द भएका छन् । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघको निर्णय अनुसार आज नियमित उडान बन्द भएका हुन । आन्तरिक उडान बन्द भएता पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने नियमित रुपमा हुने नेपाल नागरिक उडडयन प्राधिकरणले जनानएको छ । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन भने सञ्चालनका लागि छुट दिएको छ । आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो । प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् । पर्यटकका लागि सटल बस नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन पर्यटकहरूको सहजताका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो । नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ । यसका लागि ३ वटा रुट छुट्याएको छ । सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ । बोर्डले एअरपोर्ट–एनएसी–होटलअन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एअरपोर्टलाई पहिलो रुट, एअरपोर्ट–होटल र्याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टलाई दोस्रो रुट र एअरपोर्ट– तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म तेस्रो रुट तोकेको छ ।

कुन नेताको मतदानस्थल कता ?

काठमाडौं । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाैंको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन् । यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् । माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यामिकवि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन् । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबाजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् । देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । जसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक जना अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् । उपराष्ट्रपतिले मतदान नगर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस

कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौं ।  भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् । वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ ।