बजेट अभाव भएपछि स्वास्थ्यकर्मीले पाएनन् ५ महिनादेखि तबल
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन् । स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । उनले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए । ५ महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् । तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए । उनले स्वास्थ्यले पठाएको बजेट पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताए । तर सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब ४ करोड तलब दिन बाँकी रहेको जनाएको छ ।
काठमाडौं महानगरका सबै विद्यालयले छात्रवृत्ति वितरणको विवरण पठाउनु पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ । महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न उक्त सूचनामार्फत सूचित गरिएको छ । यसैगरी, महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ । तोकिएअनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिइएको छ । महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि उक्त सूचनामार्फत आग्रह गरेको छ ।
गुल्मीमा स्थानीय सरकारका १ वर्ष : विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म
तम्घास । गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई रहत दिने प्रयास गरिरहेका छन् । रेसुङ्गा नगरपालिकामा प्रमुख र उप–प्रमुखले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण–पत्र घर–घरमै पु¥याउने र विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णय गरेका थिए । अहिले सो निर्णय कार्यान्वयनमा आएको छ । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा बिमानिस्थल सुचारु गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइ) मा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्वन्द्वपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम सञ्चालन भइरहेको छ । अभिभावक गुमाएका बालबालिकालाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ । इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिले कक्षा ११ र १२ को मासिक शुल्कसमेत छुट गरेका हुन् । शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ । नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगतसिंह खड्काले बताए । इस्माले ५५ वर्षभन्दा माथिका एकल पुरुषलाई भत्ता दिएको छ । चन्द्रकोट गाउँपालिकाले एक वर्षको अवधिमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको छ । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरस्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए । विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाका लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । रासस