भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताए । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उहाँले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताए । महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिए । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो । महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उनले बताए । सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ । यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए । उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गरे । रासस
गर्मी बढेपछि झापाका दुई वटा स्थानीय तहमा विद्यालय बन्द
सुरुङ्गा । तापक्रममा अत्यधिक वृद्धि भएर गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गरिएका छन् । गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिन अनुरोध गरेको बताए । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न थालेकाले मेचीनगरभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिन सूचनामा भनिएको छ । कचनकवलका सामुदायिक विद्यालयमा पाँचदिन बिदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिन विद्यालय बिदा गरिएको जानकारी दिए । यही जेठ १८ देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको यादवले बताउनुभयो । हाल दिइएको बिदा बर्खे बिदामा मिलान गरिनेछ । एक सातायता झापाको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सूर्योदयसँगै तापक्रम २९ डिग्री सेल्सियस हुने गरेको छ । रासस
परम्परागत खेती छाडेर कफी खेतीबाट मनग्य आम्दानी गर्दै किसान
गुल्मी। गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् । तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ । सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेका छन् । ‘मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो’, उनले भने, ‘कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।’ उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् । सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेका छन् । ‘छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ’, उनले भने, ‘कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।’ अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उनले बताए । मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । ‘कफीबाट आर्थीक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ’, उनले भने, ‘हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।’ आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उनको भनाइ थियो । सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए । उनका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो । परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताए । ‘कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा सचेतना गराएका छौँ’, उनले भने, ‘कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।’ गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए । ‘कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन’, उनले भने, ‘सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।’ प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताए । रासस