बनकालीमा साढे ३ करोड बढीको सम्पदा पुनरुत्थान

पुरिएको पोखरीदेखि कलात्मक पर्खालसम्म निर्माण

काठमाडौं । काठमाडौंको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ । 

आइतबार (आज) काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले, पशुपति क्षेत्रमा आउने श्रद्धालुहरुले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताइन् ।

‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौं । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ,’ उनले भनिन् ।

वडाध्यक्ष एवं समितिका संयोजक संगतले प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्न लागेको जानकारी दिए ।

उनले भने, ‘बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ । यस क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौं । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौं ।’ 

छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ । 

यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र बिकास कोष अन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ । 

यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ रहेकाे महानगरले जनाएकाे छ । कामका लागि निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको थियाे । आगामी वर्षको असार १० गतेसम्म काम सकिने जनाइएकाे छ ।  

करिब एक रोपनी क्षेत्रफलमा ३६ कोठे धर्मशाला भवन रहेको काठमाडौं महानगरले जनाएको छ ।

महानगरका अनुसार भवन पुरानो र जीर्ण भएको, झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नभएकोले यसमा मानव बसोबास हुनसक्ने अवस्था थिएन । 

अब भवनलाई मौलिक स्वरूपमा जीर्णोद्धार गरिने भएको हो । 

त्यस्तै, श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइने पनि महानगरले जनाएको छ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन्। 

महानगरका अनुसार धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत जडानको काम हुनेछ । 

धर्मशालामा रहने श्रद्धालुहरूका लागि मनमोहक पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरूलाई ध्यानमा राखिएको छ । 

आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ । 

पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ । 

त्यसैगरी, बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सय वटा मौसमी फूल रोपिनेछन् भने २५० वटा पोली हेज सहितको हरियाली क्षेत्र निर्माण हुनेछ । 

करिब ३५० मिटर लम्बाईको सिमाघेरा पर्खाल लगाइनुका साथै पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुने महानगरले जनाएकाे छ । 

त्यस्तै, भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनुका साथै भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिने जनाइएकाे छ ।

Share News