बिहे नगरी ‘बिए’ गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँ

कमलामाई । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप १ लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन् । विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । उनका अनुसार गाउँपालिकाकोे शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ । स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ । सोही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका ५ जना किशोरीलाई जनही १ लाख हस्तान्तरण गर्यो । मरिण–७ का ४ जना र वडा नं ६ की १ जना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो । अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट १ लाख बुझेकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताइन् । उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने बताउने उनी आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा थिइन् । ‘गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ । मैले परिवारको सहयोगमा स्नातक पास गरेँ, अब आफैँ कमाएर पढ्नु पर्ने, जागिर पाएकै छैन,’ उनले भनिन् । मरिण महेश्वरताकी मनमाया कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर तेस्रो सेमिस्टार पढ्दै छिन् । विसं २०७६ मा स्नातक तहको पढाइ मरिण बुहुमुखी क्याम्पसबाट पूरा गर्नुभएकी उनी र बहिनी चित्रकुमारी कँडेलले एकैसाथ गाउँपालिकाबाट एक÷एक लाख प्रोत्साहन रकम पाइन् । चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षामात्र पास गरेका छन् । भाइले १० कक्षा उत्तीर्ण गरेर पढाइ छोडेका छन् । बहिनी चित्रकुमारीको साथमै रहनुभएकी मनमायाले भनिन्, ‘दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ, गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ, पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन, यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।’ वि.सं २०७८ मा स्नातक उत्तीर्ण गरेकी मरिण–६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै छिन् । उनलाई मरिणको प्रोत्साहन कार्यक्रम राम्रो लाग्यो । जागिर नपाएर लोकसेवा पढ्न थालेको बताउने उनले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाइन् । एक लाख प्राप्त गरेकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता रहेको बताउँछिन् । सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनी बताउँछन् । यो कार्यक्रमको ठूलो महत्त्व रहेको र अरू पालिकाले पनि लागू गर्नु पर्ने उनको भनाइ छ । यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका÷हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उनको धारणा छ । ‘सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनुपर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनुपरेको छ, स्थानीय सरकारले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । मरिणका विद्यालय तथा क्याम्पसको तथ्याङ्कलाई आधार मान्दा जति जति कक्षा पढ्दै जान्छ, विभिन्न समस्याका कारण उतिउति पढाइ छोड्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ । मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालले भने, ‘स्नातक तहको पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए, चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन् ।’ गाउँमै रोजगारी भएका विद्यार्थी स्थानीय क्याम्पसमा पढ्ने र बेरोजगार भएकाहरू बीचैमा पढाइ छोडेर कमाउन सहर जाने गरेका उनको भनाइ छ । उनका अनुसार स्थानीय क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप एक लाख दिने मरिण सरकारको कार्यक्रम स्वागतयोग्य छ । यस कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँठाउँको विद्यालय पढ्न फर्कनेछन् । अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बालविवाह न्यूनीकरण हुनेछ । बीचैमा पढाइ छोडेकाले पढ्न सुरु गर्ने छन् । ‘यो सबैथोक हो तर, पूर्ण होइन, पूर्ण बनाउन यस कार्यक्रमको प्रचारप्रसारसहित अभिभावक शिक्षा दिन पनि आवश्यक छ, अन्य कार्यक्रमलाई पनि सँगैसँगै लैजानुपर्छ,’ उनले भने । रासस

महानगरले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरण

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आइतबार एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो । महानगरपालिका प्रमुख राजेशमान सिंह आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाहीस्वरूप महानरपालिकाले स्पष्टीकरण सोधेको उनले बताए । विद्यालयमा भौतिकरूपमा कतिपय शिक्षकहरू भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टीकरण माग गरिएको उनले प्रस्ट पारे । महानगरप्रमुख सिंहले पठनपाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरू लागेको बताए । यस्तै, महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नं १४ पिपरामा रहेको नृसिंह मावि र वडा नं ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माविको समेत अनुगमन गरेका छन् । दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ । विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उनले बताए ।

काठमाडौं महानगरपालिकाले बजेटको आकार नघटाउने, कस्तो आउँदैछ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिका राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाउने अभ्यास भइरहेको छ तर, घट्दैन । ‘महानगरपालिकाले चालू आर्थिक वर्षका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो, नयाँ आवमा केही नयाँ योजना ल्याउने तयारी भए पनि धेरैजसो पुराना योजनाहरुले नै निरन्तरता पाउने देखिन्छ, सङ्घीय सरकारले अनुदान कटौती गर्दा पनि कामपाले आफ्नै स्रोत बलियो बनाएको कारण बजेटमा धेरै हेरफेर हुँदैन,’ उनले भने । कामपाले आगामी वर्ष बन्ने नीति कार्यक्रम र बजेटमा टोलस्तरीय भेलादेखि अनलाइनबाट पनि सुझाव सङ्कलन संयन्त्र परिचालन गरेको छ । महानगरले बनाउने योजनामा २३ वटा शीर्षकमा सुझाव पठाउन सकिनेछ । उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिनेछ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुनकुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नुपर्छ भन्ने जस्ता विषय छनोटमा पार्नु पर्ला ? जस्ता प्रश्नहरु सोधेर सुझाव मागिएको हो । कामपाले भौतिक पूर्वाधार (सडक र ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवद्र्र्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानी लगायतको विषय छनोटका लागि राखिएका छन् । त्यसैगरी, पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानुन तथा मानव अधिकारअन्तर्गत न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन् । सुझावहरु यही जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ ।