सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । हिमाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिञ्जाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयलाई निकै राहत भएको छ । विद्युत्को अभावले काम गर्न कठिन हुने गरेको थियो । प्राधिकरणको जुम्ला वितरण केन्द्रले सिञ्जाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकामा अब काम गर्न सहज हुने उपाध्यक्ष सितली रोकायाको भनाइ छ । नराकोटमा रहेको ट्रान्सफर्मरमा बिजुली चार्ज गरी सेवा शुभारम्भ गरिएको छ । सिञ्जा क्षेत्रका ग्रामीण ठाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । केही दिनपछि कनकसुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पुर्‍याउने लक्ष्य रहेको प्राधिकरणका प्रमुख रावलले बताएका छन् । सिञ्जासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । 

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न निर्देशन, फोहर फालेमा ७ हजारसम्म जरिवाना

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । ‘नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ,’ उनले भने । सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए । जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक ३ हजार रुपैयाँ र दोस्रोपटक ७ हजार रुपैयाँसम्म जरिवाना गरिने उनले जानकारी गराए । नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो । नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभावी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ । व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उनले बताए । त्यस्ता व्यक्तिलाई पहिलोपटक ३ हजार जरिवाना, दोस्रोपटक सोही कसुर गरेमा ३ हजारदेखि ७ हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ । साथै जथाभावी चोक–चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । ‘जथाभावीरूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ । यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ,’ उनले भने । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन । व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ । यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।

बजेटको तयारी गर्दै कञ्चनपुरका स्थानीय तह

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन् । ‘वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी योजना बनाउन जुटेका छौँ’, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले भने । असार १० गते बस्ने नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए । नगरप्रमुख ओझाले भने, ‘यस पटक हामीले स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ ।’ उनले नगरपालिकाले यस पटक रोजगार केन्द्र स्थापना गर्ने बताए। भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभाबाट बजेट ल्याउने तयारी गरेको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले नगरपालिकाले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजनाहरु वडा समितिमार्फत नगरसभामा पठाउने काम भइरहेको बताए। ‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ’, उनले भने, ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिन्छ ।’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । उनले अहिले सबै वडामा टोल भेलाबाट योजना छनोट भइरहेको बताए । ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौँ’, उनले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ ।’ बस्ती भेलामा सहभागीहरुले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन् । सामान्यता स्थनीलयले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्का समस्यालगायत विषय उठाउने गरेको जनप्रतिनिधि बताउँछन् । स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेको छ । वैशाखभित्र सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । त्यस्तै, जेठभित्र बस्ती तथा टोल स्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।