खुला आकाशमुनि बाँझो खेतमै बसेर पठनपाठन गर्न बाध्य विद्यार्थी

सिमकोट ।  जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन । विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिरामा परी भत्किँदा विद्यार्थी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् । जैर गाउँ सदरमुकाम सिमकोटबाट ३८ कोष टाढा पर्छ । छ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढी–पहिराले तीन कोठा भत्काएको र बाँकी तीन कोठा जीर्ण भएर बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजदेखि नै सबै विद्यार्थीलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक मीनबहादुर रावतले बताए । बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गरे । विद्यालय पुनःनिर्माणका लागि गाउँपालिका, सामाजिक विकास कार्यालय, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक–पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको सर्केगाड–१ का वडाअध्यक्ष बलबहादुर कार्कीले बताए । विद्यालय भवन बाढीपहिराले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी सङ्ख्या एक सय दुईबाट घटेर ७८ मात्र रहेका छन् । रावतले भने, “ती विद्यार्थीलाई पनि घाम–पानी छेक्ने कक्षा कोठा व्यवस्था काहीँ कतैबाट पहल नभएपछि केही सीप नलागेर घाम लागेको दिन मात्र खेतमै बसालेर पठनपाठन गर्नु हाम्रो बाध्यता हो ।” विद्यालयमा दुई जनाको दरबन्दी, बालविकास शिक्षक एक, पालिकाबाट अनुदान शिक्षक एक र विद्यालय कर्मचारी एक गरी जम्मा पाँचजना कार्यरत छन् । विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई तीन ठाउँमा भेला गरी पठनपाठन गरिँदै आएको छ । हिउँदको मौसममा जसोतसो गुजारा चलाए पनि वर्षाको मौसममा भने कठिन हुने गरेको उनले बताए । बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने हुँदा विद्यार्थी घरबाट काठको टुक्रा बोकेर ल्याई भुइँमा राखेर बस्ने गरेका छन् । रावतका अनुसार वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग विद्यालय भवन निर्माणमा सहयोगका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन सकेको छैन । देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि उस्तै सर्केगार्ड–१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि कम छैन । उनीहरु पनि यसरी भुुइँमा बसेर अध्ययन गर्दै आएका छन् । सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन् । विद्यालयले कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुुइँमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक कालीबहादुुर रावतले बताउनुभयो । बेन्च–डेस्क भएका कक्षाका लागि अभिभावक मिलेर रु २० हजार उठाइएको थियो । भवन निर्माण गरे पनि कोठामा डेस्क–बेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी धुलाम्मे भुुइँमा बस्दै आएका छन् । भुुइँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने गरेका छन् । उक्त विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुुक्रा वा ढुङ्गा बोकेर ल्याई भुुइँमा राखेर बस्ने गर्दै आएका छन् । विद्यालयमा दुई सय २० विद्यार्थी अध्ययन गर्छन् । वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क–बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको प्रधानध्यापक रावतले गुनासो गरे । यसअघि कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालयमा कक्षा पाँच उत्तीर्णपछि सरस्वती मावि जैर, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगर वा मुुगुु जिल्ला गएर अध्ययन गर्नुपर्ने भएपछि विद्यालयले कक्षा ८ सम्म पठनपाठनका लागि अनुमति लिएको हो । कक्षा बढाए पनि विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ । रासस

 महानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ । २०८० साल वैशाख २९ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयअनुसार असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ । महानगरपालिकाको यस निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौँमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउँदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरसँग अनुरोध पनि गरेका छन् । सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौँ छाड्ने यात्रुहरुको सङ्ख्या करिब ७५ हजार हुन आउँछ र भित्रिनेको सङ्ख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णयअनुसार ती यात्रु उपत्यका जुनसुकै स्थानको भए पनि टिकट काट्न बसपार्क पुग्नुपर्ने हुन्छ । सवारीसाधन चढ्न बसपार्क पुग्नुपर्ने हुन्छ । ओर्लिन बसपार्क नै पुग्नुपर्ने हुन्छ । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि बढाउने छ । बसपार्कको क्षमता र सवारीसाधन   सैद्धान्तिक रुपमा बसपार्कमा सवारीसाधनहरु जानुपर्छ, यात्रुहरु बसपार्कबाटै यात्रा गर्नुपर्छ भन्ने विषयलाई नराम्रो भन्न मिल्दैन । तर नयाँ बसपार्कको पार्किङ क्षमता सात सय सवारीसाधन मात्रै हो । महानगरको निर्णयअनुसार लामो, मध्यम र छोटो दूरीमा चल्ने सबै सवारीसाधनहरु बसपार्क भित्र्याउने हो भने पार्किङ गर्ने विषय परको कुरो, चढाउने र ओराल्ने मात्रै गर्न पनि नयाँ बसपार्कले धान्न सक्दैन । सामान्यतया विपी राजमार्ग भएर पूर्व चल्ने सवारीसाधनहरु करिब दुई हजार, पूर्वअरनिको यातायात प्रालिका करिब छ सय, पूर्व चल्ने रात्रि तथा दिवा सेवा करिब दुई सय बल्खुबाट तराई चल्ने सुमो करिब आठ सय, पनौती–धुलिखेलका करिब चार सय, पृथ्वी राजमार्ग चल्ने करिब चार सय, पश्चिम चल्ने करिब सात सय, पासाङ ल्हामु राजमार्गमा चल्ने करिब दुई सय गर्दा करिब करिब पाँच हजार सवारीसाधनहरु हुन आउँछ । बसपार्कको विस्तार र व्यवस्थापन नगरी यही अवस्थामा सबै सवारीसाधनहरु बसपार्क जानैपर्छ भन्नु व्यावहारिक हुँदैन । ट्राफिक समस्या र कोलाहलमय बसपार्क   कोटेश्वर, गौशाला, चावहिल, सुकेधारा, सातदोबाटोले धानिरहेको विपी राजमार्गबाट पूर्व जाने सवारीसाधनहरु, पूर्व अरनिको यातायात प्रालिका बस, पूर्व चल्ने रात्रि तथा दिवा सेवाका बस, बल्खुबाट तराई चल्ने सुमो, पनौती, धुलिखेलका बसहरु करिब १० देखि १४ किलोमिटर चक्रपथ घुमेर बसपार्क जानुपर्दा यसको असर उपत्यकाका सडकमा प्रत्यक्ष पर्ने निश्चित छ । महानगरको यो निर्णय गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि भनिएको छ । तर उल्टै यसले अस्तव्यस्त पार्नेछ । अहिले पनि सहरको कुनै क्षेत्रमा यातायात सञ्चालनमा कुनै समस्या आए दिनभर पूरै उपत्यका असर पर्ने गर्दछ । त्यसलै चक्रपथ मात्रै होइन, काठमाडौँ उपत्यकाका सबै सडक ट्राफिक समस्याले तहसनहस बन्ने देखिन्छ । हजारौँ यात्रु गन्तव्यका लागि सवारीसाधनको खोजीमा भौँतारिनुपर्ने हुन्छ भने ती सवारीसाधनका श्रमिक तथा सवारीसाधनहरु पनि असुरक्षित हुने अवस्था आउने निश्चित छ । टिकट काउन्टर व्यवस्थित गर्नुपर्छ, हटाउने होइन   बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलङ्की, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने निर्णय अव्यावहारिक छ । यो निर्णयले हवाईजहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइँदैन भने जस्तै हुन्छ । यसको असर सबैभन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्वारा चक्रपथ आसपास रहेका तीन सय टिकट काउन्टर र त्यहाँ काम गर्ने करिब एक हजार पाँच सय श्रमिकको रोजीरोटी खोसिन्छ । हटाउने होइन काउन्टर सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ । कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउन्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउन्टर, एक काउन्टर एक टिकट नीति बनाउने, काउन्टरमा एउटै साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोसाक लगाएर मात्रै काउन्टरमा काम गराउन आवश्यक छ । त्यस्तै, यात्रुहरुले ठगिनु नपरोस् भनेर काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूची राख्ने, बस छुट्ने समय यात्रु आइपुग्नुपर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई मेसेज गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने गरी सञ्चालन गर्न सकिन्छ । यात्रुहरुको गुनासा तथा सुझावका लागि काउन्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोल फ्री नं काउन्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरुसहित सबैको सहभागितामा समस्याहरुको समाधान गर्ने गरी काउन्टरहरुलाई व्यवस्थित गर्न सकिन्छ । वैकल्पिक बसपार्क निर्माणको तयारी  नयाँ बसपार्क अपायक स्थानमा छ । यो बसपार्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कोटेश्वर, कलङ्की, बल्खु हो । बसपार्कहरु सहर प्रवेश नाका आसपास हुनुपर्दछ । सहर भित्रिने र बाहिरिने सवारीसाधनहरु सकेसम्म सहर पार गर्नु नपरोस् । तर, नयाँ बसपार्क मुख्य नाकाको ठीक विपरीत दिशामा अवस्थित छ । कलङ्की नाकाबाट बसपार्क करिब आठ किलोमिटर दूरी, बल्खु नाकाबाट करिब १० किलोमिटर दूरी र कोटेश्वर नाकाबाट करिब १४ किलोमिटर दूरीमा रहेको छ । महानगरपालिकाले नयाँ बसपार्कको विकल्प तयार गर्दै जानु पर्दछ । पश्चिमबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क व्यवस्था गर्नुपर्दछ, पूर्वबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनहरुका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क व्यवस्था गर्नुपर्छ । त्यस्तै, दक्षिणकाली नाकाबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधनका लागि बल्खुदेखि चौभार आसपासमा बसपार्कको व्यवस्था गर्नु पर्दछ । साँखु, नाङ्लेभारे नाका लागि जोरपाटी आसपास बसपार्क बनाइनु पर्दछ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कको रुपमा व्यवस्थित गर्न सकिन्छ । निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ, स्वयम् महानगर र बसपार्क सञ्चालन गरिरहेको कम्पनीको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत हुनुपर्छ । यस निर्णयले कुनै कम्पनीलाई पार्किङ शुल्क र काउन्टर भाडाको आयसँग जोडिएको अनुमान बजारमा धेरैले गरेकाले एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भीर निर्णय गर्न सक्दैन भन्ने भनाइ पनि रहेको छ । बसपार्कको क्षमता वृद्धि र थप संरचना निर्माण नगरी अहिलेकै अवस्थामा यति धेरै सवारीसाधनको व्यवस्थापन गर्न चुनौतीपूर्ण हुनेछ । अन्त्यमा   यी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । महानगरपालिका यो महत्वपूर्ण विषयमा गम्भीर र जिम्मेवार हुनु पर्दछ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउन्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउन जरुरी छ । महानगरले बनाएका मापदण्डहरुलाई व्यवसायी र श्रमिकले इमान्दारीपूर्वक पालना गर्नुपर्छ । तर यात्रु र सवारीसाधन सबैलाई प्रभाव पार्ने निर्णय गर्दा त्यसको असरहरुबारे अध्ययन र सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयन गर्न कठिन हुन्छ । यसले अनावश्यक विवाद ल्याउँछ । सरकारले नागरिकको आवाज सुन्नुपर्छ । सरोकारवालाहरुलाई साथसाथै लिएर समृद्ध र सुन्दर शहर बनाउन लाग्नुपर्छ । रासस (लेखक राई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष हुनुहुन्छ)

धनकुटामा रोजगार मेला हुँदै

धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए। कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।