पोखराको फिर्के खोला मिचेर १७४ वटा घर तथा भवन निर्माण

कास्की । पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सीमांकनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ देखि खोलाको सीमांकन गर्न सुरु गरेको थियो । महानगरले एक महिना लगाएर काम गरेको हो । भदौ ३ गते सीमांकनको सबै काम सम्पन्न भएको हो । पोखरा-१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन कार्य पोखरा-१८ को अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको सीमांकन कार्यको नेतृत्व गरेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलले बताए । पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् । सीमांकनका क्रममा खोलामाथि घरघरै घर बनेका पाइएको पौडेलले बताए । नाप जाँचका क्रममा खोलामाथि अविश्वासिलो ढंगले अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषणलगायतका अवस्था भेटिएको उनले जानकारी दिए । ‘महानगरले हामीलाई फिर्केको सीमांकनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरेका छौँ । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो,’ उनले भने । पौडेलले सीमांकन भएको क्षेत्रमा पाँच सय ८४ पिल्लर तथा दुई सय ३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको बताए । खोलाको नापजाँचका क्रममा एक सय ४७ भवन मापदण्डबाहिर निर्माण गरिएको पाइएको छ । फिर्केको अतिक्रमण गरी २५ वटा सामाजिक संघसंस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भाग नै परेको छ । बर्खाको समयमा फिर्के खोलामा सीमांकन जटिल भएको उनले बताए । कतिपय स्थानमा चिह्न लगाउनै गाह्रो भएकाले थप वास्तविक सीमांकनका लागि डिजिपिएस (सेटलाइट) प्रविधि राम्रो हुने उनले जनाए । ‘हामीले अहिले टेपबाट नाप जाँच गरेका छौँ । डिजिपिएस प्रविधिले मापन गर्नसकेको खण्डमा एक इन्च पनि दायाँबायाँ हुँदैन । अझ सही डाटा प्राप्त हुन्छ, यसबारेमा महानगर प्रमुखसँग छलफल गर्नेछौँ,’ पौडेलले भने । महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वर्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार फिर्के खोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिनेछ । महानगरले यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ । ‘दिगो पर्यटन विकासको अवधारणामा फिर्के खोलाको दुवैतर्फ साइकल लेनसहितको फुट ट्रयाक बनाइनेछ । यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ,’ प्रमुख आचार्यले भने । फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि मात्र पर्यटन विकास परियोजना लागू हुनेछ । फिर्के खोलाको सीमांकन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित थिए । पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ । रासस

काठमाडौं महानगरले खारेज गर्याे २ सहकारीको दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ । ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रूपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० थप गरेर २५ रूपैयाँ बनाएको थियो । सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ मा महानगरले १५ थप गरी ३० रूपैयाँ पुर्‍याएको कोइरालाले बताए। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ । रासस