नरैनापुर गाँउपालिकाले सम्पन्न गर्यो पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक वर्षमा आ-आफ्नो वडामा गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए । समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए । गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सूचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यही बर्ष धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछाैं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्यूजियम बनाउने भएको छ । वि.स १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन् । ति रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भने ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ ।’ यसै बर्ष काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन् । केही समयअघि मन्त्री ज्वालाले म्यूजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए । छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए । ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ । मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए ।

कपिलवस्तुमा नगरपालिकाका कर्मचारीले अनुगमन भत्ता साढे ८ लाख लिए

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आठ लाख ५० हजार रुपैयाँ रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ । गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले ६३ हजार सात सय ५० रुपैयाँबुझेको पाइएको हो । नगरप्रमुख अजय थापाले ५१ हजार रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले ५१ हजार रुपैयाँ, इन्जिनियर रामजी थापा नेपालीले ५१ हजार रुपैयाँ, लेखा अधिकृत रामचन्द्र मरासिनी ५१ हजार रुपैयाँ र खरिदार प्रेम वलीले ५१ हजार रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ । यस्तै इन्जिनियर मोहन केसीले ४१ हजार छ सय ५० रुपैयाँ, लेखापाल रीता खनालले ४१ हजार छ सय ५० रुपैयाँ, ओभरसेयर सरोज भुसालले २८ हजार ५०,  शिव पराजुलीले २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले २४ हजार छ सय ५० रुपैयाँ बुझेको नगरपालिकाले जानकारी दिएको छ । यसैगरी ओभरसेयर अजय कुर्मीले २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० रुपैयाँ बुझेका छन्र । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझेकाे जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र  माहेताब आलम खाँले १२ हजार सात सय ५० रुपैयाँका दरले भत्ता बुझेका हुन् । वडाध्यक्ष रिजवान अहमद खाँले १४ हजार चार सय ५० रुपैयाँ, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले आठ हजार पाँच सय रुपैयाँका दरले भत्ता बुझको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझको हो । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले आठ हजार पाँच सय रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ । रासस