नागरिक उड्डयन प्राधिकरणविरुद्ध अदालत पुगेका बालेनको रिट खारेज

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरका प्रमुख बालेन शाहको रिट खारेज गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध अदालत पुगेका काठमाडौं महानगरका प्रमुख शाहको रिट खारेज गरेको हो । मेयर शाहले त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाईएको तारबार हटाएपछि प्राधिकरणले ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । प्राधिकरणको सो निर्णय कार्यान्वयन नगर्न माग गर्दै मेयर शाह उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको बुधबार बसेको संयुक्त इजलासले मेयर शाहको रिट खारेज गर्दै जरिवाना तिराउन भनेको हो ।

डेङ्गी नियन्त्रण गर्न महानगरपालिकाका नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ । लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले  ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।’ अहिले नियमित रुपमा पानी परिरहेको छ ।  आकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ पौडेलले भने । ‘लार्भिसाइड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन । यो विषादी होइन । उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ’, प्रमुख पौडेलले भने । औषधिले डेङ्गीसहित, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ । १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो । कामपाले  वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार बिहान ८ देखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ । सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी बीचमा डेङ्गी रोगसम्बन्धी चित्रकला प्रदर्शन गरी अभिभावकसम्म सङ्क्रमणबारे चेतना पु¥याउने कामपा पनि गरिरहेको छ । यस रोगबारे  परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ । उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ । प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजललगायत औषधिको व्यवस्था मिलाइएको छ । रासस

महानगर क्षेत्रका उद्यमीलाई कर रकममा ४० प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले जनाएको छ। समयमै कर तिरेर छुट लाभ लिन पनि महानगरले आग्रह गरेको छ।