बाँदरपीडित किसान भन्छन् : ‘न समय बच्यो न मकै’

बागलुङ । बडिगाड गाउँपालिका-३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँच मुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट गरिदिएको हो । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा छन् । ‘दुई वर्षअघि पाँच मुरी मकै भित्र्याएको थिएँ, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभरि बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै मकै सखाप पार्छ, न समय रह्यो न मकै,’ फारमले भने, “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्‍यो । सम्पन्न व्यक्ति बसाइँसराइ गरेर जाने हामीजस्ता किसानलाई बाँदरले निकै समस्या पार्‍यो ।’ बाँदर हेर्न दिनभरि बारीमा बसे पनि मकै जोगाउन नसक्दा किसानको समय र मकै दुवै खेर गएको छ । अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ । बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौरलगायतका क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनसमेत स्थानीय पालिकामा वडामार्फत जानकारी गराए पनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानको गुनासो छ । ‘अहिले मकैका घोगा छैनन्, डाँठ मात्रै छन् भाँचेर गाईभैँसीलाई खुवाउनसमेत नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जङ्गलका बाँदर यहाँ आउन सहज भयो,’ अर्का पीडित किसान जीवनले भने, ‘बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ, यहाँ स्थानीय जातको लङ्गुर बाँदरको बथानै छ, पहिला एक-दुई पटक बाँदर आएको देखिन्थ्यो, अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्य नै नभएपछि त्यसै छाडियो ।’ सिसाखानीका दानबहादुर श्रीसका अनुसार सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलनसमेत नभएकाले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । बाँयचौरलगायत सिसाखानीका १० भन्दा बढी गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताए । सत्तरीभन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा बाँदरको समस्या बढ्दै गएको बडिगाड-३ का वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिए । पुनले बाँदरका कारण किसान अहिले पीडित बनेको जनाउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताए । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्यांक संकलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको प्रतिबद्धता छ । रासस

जुवातास खेल्ने र खेलाउनेलाई ५० हजार जरिवाना

पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर रोकाले जुवातास खेलाउनेलाई  ५० हजार र खेल्नेलाई  पाँच हजार जरिवाना तोकिएको जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्न नपाउने नियम बनाइएको छ । लागुपदार्थका कारण घरेलु हिंसा, झै–झगडालगायत सामाजिक विकृतिका घटना बढ्नुका साथै आर्थिक अवस्था कमजोर भएका नागरिकका परिवारलाई जीविकोपार्जनमा थप समस्या हुन थालेपछि स्थानीय जनप्रतिनिधिले जरिवाना तिराउने निष्कर्ष निकालिएको वडाध्यक्ष रोकाले बताए । ‘जुवातास, मदिरा र लागुपदार्थका कारण वडामा सामाजिक सद्भाव बिग्रिन थालेको महसुस गरेका छौँ’, उनले भने, ‘लागुपदार्थविरुद्ध निगरानी बढाउनुका साथै सचेतनामूलक अभियान चलाएका छौँ ।’ उनका अनुसार मगर र दलित समुदायको बाहुल्यता रहेको यस वडामा मदिरा र लागुपदार्थको सेवन बढी मात्रामा हुने गरेको छ । यस्ता गतिविधिले बालबालिकालाईसमेत नकारात्मक असर पारिरहेकाले लागुपदार्थ नियन्त्रणका लागि जरिवाना तिराउनु आवश्यक देखिएको बताउँदै वडाध्यक्ष रोकाले वडाले गरेको निर्णय अटेर गरेमा सुरक्षा निकायसँग समन्वय गरेर कारबाहीको दायरमा ल्याइने जानकारी दिए । उनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्ला केही वर्षयता घरेलु हिंसाका घटना बढ्दै गएका छन् । गत आर्थिक वर्षमा मात्रै ४५ जनाले आत्महत्या गरेका छन् भने १७ जबर्जस्ती करणीका घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार  यसबाहेक झै–झगडा, कुटपिटलगायतका एक सय बढी मुद्दा दर्ता भएका छन् । रासस

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ । ‘अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ’, प्रजिअ केसीले भने, ‘उपभोक्त सहकारीलाई भोलीका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ । उनीहरुले अस्तीदेखि नै पोल र तार मर्मतको काम गरिरहेका छन् ।’ विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए । ‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्’, उनले भने, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ ।’ खानेपानी सञ्चालनको तयारी बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए। प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए । उनका अनुसार बाढीले चारपाङ्ग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पुर्‍याएको छ । रासस