तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. कृष्णबहादुर घिमिरे
काठमाडौं । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा. कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा. घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका थिए । नेपालको संविधानको धारा २२६ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित गरेको थियो । नव नियुक्त उपाध्यक्ष डा घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफूले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनका लागि सिफारिस गर्नेछ । यस्तै नगरपालिकाको विकास सम्भावना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्नेछ । यसैगरी नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका विभिन्न २७ काम, कर्तव्य र अधिकार तोकिएको छ ।
कमलामाईमा मासुको अव्यवस्थित व्यापार, बजार बन्यो दुर्गन्धित
कमलामाई । कमलामाई नगरपालिकाको कार्यालय भवन छेवैमा रहेको कृषिउपज बजारभित्र तीन मासु पसल छन् । कोठा नं ५ मा सुमित माछा पसल, कोठा नं ६ मा बराल मासु पसल र कोठा नं ८ मा खाँडादेवी मिट सप्लायर्स । यी मासु पसलका कारण कृषिउपज बजार नै दुर्गन्धित बनेको छ । मासु पसलबाट आउने दुर्गन्धले वरपरका व्यापारी मात्रै होइनन्, तरकारी, फलफूल, दूध, दहीलगायत बजारभित्र पाइने अन्य सामान किन्न आउने उपभोक्ता पनि पीडित भएका छन् । ‘कृषिउपज बजारभित्र पस्नै मन लाग्दैन । मासु पसलबाट आउने दुर्गन्धले नाक थुनेर हिँड्दा पनि टाउको दुख्छ । वाकवाकी लाग्छ । गर्मी महिनामा यहाँको दुर्गन्धले झनै सामान किन्न सक्ने अवस्था हुँदैन’, उपभोक्ता मुना पौडेलले गुनासो गरे । मासु पसल नजिकै रहेको सुुरेश फलफूल होलसेल पसलका एक कर्मचारी र तरकारी पसलकी सिखिला देवी चौधरीका अनुसार मासु पसलमा हुने फोहर र दुर्गन्धका कारण यहाँ व्यापार गर्नै समस्या भइरहेको छ । ‘उपभोक्ता नाक थुनेर आउँछन्, तरकारी किनेर फर्किन्छन्, यो समस्या धेरै वर्षदेखि भोग्दै आएका छौँ । हामी त सधैँ बिहानदेखि साँझसम्म यही बसेर व्यापार गर्नुपर्छ । छिमेकी हुन्, केही भन्यो भने रिसाइ हाल्छन्’, व्यापारी चौधरीले दुखेसो पोखे । बराल मासु पसलका सञ्चालक तालविक्रम बरालका अनुसार उनले २० वर्षदेखि यही ठाउँमा मासु पसल सञ्चालन गदैँ आएका छन् आफ्नो पसलबाट स्वस्थ मासुमात्रै बिक्री हुने उनले दाबी गरे । नगरपालिकाको कार्यालय भवन आसपासमा पसलबाट आउने दुर्गन्धका कारण बस्नसक्ने अवस्था हुदैन । बिक्रीका लागि राखिएका मासु बाहिर पनि खुला, नछोपिएको अवस्थामा राखिएको स्थानीय बताउँछन् । कमलामाई नगरपालिका–५ मधुटार, पुलचोकमा रहेको पृति माछा पसल, श्री रितु माछा पसल र पुलामी फ्रेस मिट हाउसको अवस्थामा पनि उस्तै छ । बसपार्कबाट मघुटार जाने पुल कट्नेबित्तिकै आउने साँघुरो सडकको छेवैमा यी पसल सञ्चालित छन् । माछा र मासु पसलबाट आउने दुर्गन्धले स्थानीयवासीसँगै सडकमा गुड्ने सवारीसाधन र पैदल यात्रुलाई समेत असर परिरहेको स्थानीय समीक्षा बुढाथोकीले बताए। ‘यहाँ राखिएका माछा र मासु पसलबाट केही किनेर खाऔँ झैँ लाग्दैन । बाटोको धुलो त्यही, झिँगा त्यस्तै भन्केको हुन्छ । फोहर उस्तै देखिन्छ’, उनले भने, ‘यहाँको बाटो हिँड्ने यात्रु पनि नाक थुनेर हिँड्न बाध्य छन् । मासु पसल मापदण्डविपरीत चलेका छन् ।’ सिन्धुलीमाडीमा अवस्थित शनिबारे हाटमा खुला स्थानमा सुगुँर, बुङ्गुर, राँगाको मासु र माछा बेच्न राखिएका देखिन्छन् । यहाँबाट निस्कने फोहर र दुर्गन्धले बजारलाई प्रदूषित बनाउने गरेको स्थानीय बताउँछन् । कमलामाई नगर पशु शाखामा दर्ता भएका ३० मासु पसल छन् । कनपा–४ मा तीन, वडा नं ५ मा सात, वडा नं ६ मा १०, वडा नं ७ मा पाँच, वडा नं ८ मा दुई, वडा नं १० मा एक र वडा नं १२ मा दुई मासु पसल दर्ता भएर सञ्चालित छन् । यीबाहेकका धेरै मासु पसल दर्ताविना नै सञ्चालन भइराखेका छन् भने दर्ता भएका मासु पसलले पनि न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् । ‘माछामासुको पसल बोर्डमा अडरअनुसार जिउँदो ताजा माछा, मासु पाइने कुरा लेखिएको हुन्छ । तर मासु पसलेले मरेर सड्नै लागेको माछा र उपचार नलागेको बिरामी पशुकोसमेत बिक्री गर्ने गरेका छन्’, स्थानीय मोहन ढकालले भने, ‘कमलामाई नगरपालिकाभित्र मात्रै होइन, उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर मापदण्डको पूर्ण कार्यान्वय गरेर सञ्चालनमा भएका मासु पसल जिल्लामा शिला खोज्दा पनि भेट्न सक्ने अवस्था छैन ।’ व्यापारी तथा व्यवसायीले विनापरीक्षण मासु वितरण गर्दा, बधशाला र मासु बिक्रीका लागि राखिने ठाउँसमेत व्यवस्थित नहुँदा यहाँका उपभोक्ता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका उनको भनाइ थियो । १० वर्ष मासु व्यवसाय गरेर हालै छोड्नुभएका ढकालका अनुसार मासु व्यवसायीले न्यूनतम मापदण्डसमेत पूरा नगरी मासु बेचिरहेका छन् । उचित पशु बधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी बध गर्ने, खुलारुपमा सडक छेउमै मासु बेच्न राख्ने गर्नाले समस्या झन बढ्दै गएको उनले बताए । यसरी मापदण्डविपरीतका मासु पसलका कारण गुणस्तरीय र स्वच्छ मासु उपभोक्ताले पाउन नसकेको ढकालले बताए। ‘माछामासु पसल उपभोक्तको हितविपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ’, उनले भने, ‘स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुबधशालाको व्यवस्था गर्नुपर्छ ।’ न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री हुने गरेको गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गरेर सुधार गर्नका लागि सुझाव दिएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । ‘अनुगमनका क्रममा कतिपय माछामासु पसलमा बिक्री वितरणका लागि राखिएको ठाउँमै किरा परेकोसमेत भेटेका थियौँ । उनीहरुलाई सम्झाइबुझाइ गर्नुका साथै जरिवाना तिराएका छौँ’, उनले भने, ‘कारबाहीस्वरुप जरिवाना तिराउँदा पनि अटेर गर्नेलाई मासु पसल बन्द गर्न नगरबाट पत्र पठाउने कार्य अगाडि बढाएका छौँ ।’ नगरपालिकाले नियममित अनुगमन गरेर न्यून मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न थालेपछि केहीमात्रामा सुधार भएको नगरप्रमुख पोखरेलले बताए । अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल गरिदिने उनले चेतावनी दिए । माछामासु पसल र पशुबधशालालाई व्यवस्थित बनाइ उपभोक्तालाई गुणस्तरीय र स्वस्थकर माछामासु उपभोग गराउने कमलामाई नगरपालिकाको नीति कार्यान्वयन आउन सकेको छैन । मुख्य बजार क्षेत्र तथा व्यस्त सडकको छेउमा अव्यवस्थित रुपमा माछामासु व्यवसाय सञ्चालनमा रोक लगाइ छुट्टै व्यवस्थित स्थान तोकिदिनुपर्ने स्थानीय शिक्षक रमेश देवकोटाको धारणा छ । रासस
गाईजात्रा र जनैपूर्णिमाको तिथि पालिकापिच्छे फरक-फरक
काठमाडौं । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकैदिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ । पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा. डा. भट्टराईले बताए । ‘गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ । भदौ १४ गते बिहान पूर्णिमा तिथि छ’, उनले भने, ‘सोही दिनको बिहान ७ः४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात् सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो ।’ भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ । नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताए । त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णय अनुसार भदौ १४ गते नै दुवै पर्व मनाउने निर्णय गरिएको शङ्खधर साख्वा प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले जानकारी दिए । नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव र नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उनले बताए । ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन् । पाटन क्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ । यो निर्णय पनि शास्त्रसम्मत् नभएको समितिका सदस्य भट्टराईले बताए । भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्य कर्म गर्नु नहुने उनको भनाइ थियो । काठमाडौँका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी चाडपर्व, तिथि, मितिसम्बन्धी निर्णय गर्ने जिम्मेवारी तोकेको थियो । समितिको उक्त गठन आदेश विसं २०७८ साउनमा नेपाल राजपत्रमा सूचनाका रुपमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो । स्थानीय तह र गैरसरकारी संस्थाका रुपमा दर्ता भएका सांस्कृतिक संस्थाले पनि यस विषयमा निर्णय गरी सार्वजनिक गर्न थालेपछि चाडपर्वका बारेमा बेलाबेलामा अन्योल हुने गरेको छ । रासस