कर नबढाउन आग्रह, उद्यमीलाई आत्मनिर्भर बनाउन जोड दिनुपर्ने

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ। विभिन्न राजनीतिक दलले चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्नेगरी निर्धारण गरिएको करलाई पुनरावलोकन  गर्न माग गरेका हुन् ।  ती दलले पहिलाकै अवस्थामा करलाई  ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएको छ ।   कार्यक्रमसँगसँगै करवृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाँईले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका  कार्यक्रम जारी रहने बताए ।  सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगरसभाबाट आव २०८०-८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिए ।  उनले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गरे । स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नगरसभापति टेकमणि न्यौपानेले हालको अव्यावहारिक आर्थिक ऐन, २०८० लाई व्यावहारिक बनाउन माग गरे ।  सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले जग्गाको वर्गीकरण गर्ने क्रममा  सामान्य कर बढेको हुनसक्ने उल्लेख गर्दै बढी भए पुनर्विचार गरिने बताए । ‘आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिन सकिने छ’, उनले भने, ‘जग्गाको वर्गीकरण जनताको हित र भलाइका लागि परिवर्तन पनि हुनेछ ।’ रासस

लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । बिहीबार रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको सार्वजनिक विदा दिइएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सापारु वा गाई जात्रा काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन्  । रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

आठराई-त्रिवेणीका सपना सारथी दीपेन्द्र

काठमाडौं । सामान्य चियागफमा पनि धेरै चर्चा हुने विषय हो विकास र नेताको भूमिका । कुनै काम वा निर्णय यसरी वा त्यसरी गर्नुपर्थ्यो भनेर उपाय सुझाउने पनि धेरै हुन्छन् । तर, आफैले ती कामको नेतृत्व गर्ने आँट भने कमैमा हुन्छ । अझ ग्रामीण क्षेत्रको समग्र विकासको जिम्मेवारी काँधमा लिन जो कोही तयार भइहाल्दैनन् । तर, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकालाई विकासमा अग्रणी बनाउने अठोट शिरमा लिएर खटेका छन् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु । अघिल्लो बैशाखमा भएको चुनाव जितेसँगै समाज परिवर्तन र विकासलाई गति दिने गरी काम गरिरहेको उनले बताए । ‘गाउँपालिका हरेक क्षेत्रमा पछि परेको देखेर नै मलाई गाउँपालिकाको अध्यक्ष बन्न मन लागेको हो, यहाँको विकासलाई तीव्रता दिन नसकेको देखेर आफै पालिकाको अध्यक्ष बनेको  हुँ’ उनले भने । दीपेन्द्र परिवारका ९ सन्तानमध्येका कान्छा छोरा हुन् । उनको जन्म २०४४ बैशाखमा भएको हो । ३५ वर्षको उमेरमा उनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उनले प्लस टुसम्मको अध्ययन गरेका छन् । स्नातक तह अध्ययनको लागि भर्ना भए पनि पूरा गर्न नसकेको उनले बताए । ‘मैले धेरै पढ्न पाएको छैन । स्नातक तहको अन्तिम वर्षमा पुगेपछि पढाइमा ब्रेक लाग्यो’, उनले भने। त्यसबेला दीपेन्द्र चाहन्थे, पढाइ सकेर राम्रो जागिर पाइयोस् । जागिर नपाए विदेश जाने सोच पनि उनमा आएको थियो । अध्ययनकै क्रममा उनी राजनीतिमा पनि आवद्ध भइसकेका थिए । तर, राजनीतिमै स्थापित भइएला भन्ने उनलाई लागेको थिएन । बरु जिविकोपार्जनको विकल्प रोजगारी हुन सक्ला भन्ने साेचेका थिए। काम खोज्दै जाँदा उनले एउटा गैरसरकारी संस्थामा जागिरको अवसर पाए । तर, उनले डेढ वर्षभन्दा बढी उक्त संस्थामा काम गर्न सकेनन् । ‘एनजीओमा काम गरेपछि जागिरको अनुभव पर्याप्त भयो । त्यहीँ बेला थाहा भयो जागिर खाने होइन रहेछ, खुवाउने रहेछ’, उनले भने । एनजिओको जागिर छाडेपछि भने उनले विदेशको सोच पनि त्यागिदिए । स्वदेशकै माटोमा पसिना बगाउने र व्यवसायमा रमाउने भन्दै निर्माण क्षेत्रको काममा हात हाले । उनले २०६९ सालमा पोमु कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरी निर्माण व्यवसायीको रुपमा काम सुरु गरेका थिए । त्यसपछि भने उनले व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै गए । राजनीतिमा बढी केन्द्रीत भएपछि उनले कन्स्ट्रक्सन कम्पनीको जिम्मा भने उनले आफ्नो श्रीमतीलाई दिएका छन् । सुरुमा अनेरास्ववियूसँग आवद्ध रहेका दीपेन्द्र पढाइ छाडेपछि युवा संघको राजनीतिमा लागे । संघमा रहँदा युवा सशक्तिकरणका साथै युवा जागरूकताका क्षेत्रमा उनले काम गरेको बताउँछन् । यसपछि भने उनमा राजनीतिक राप रात दिन भरिँदै गयो । २०६९ सालमा बुटवलमा भएको युवा संघको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनले २०७७ सालमा करिव डेढ वर्ष राष्ट्रिय युवा परिषद्को जिल्ला अध्यक्ष भएर पनि काम गरेका थिए । जुन राजनैतिक नियुक्ति थियो । त्यसबेलासम्म उनले आफ्नो राजनीतिक प्रतिष्ठा उँचो बनाइसकेका थिए । २०७४ को चुनावमा उनी उम्मेदवार बन्न चाहेका थिए तर, पार्टीले टिकट दिएन । ‘मेरो आकांक्षा भए पनि पार्टीले मलाई टिकट दिएन, म अर्को पटकको चुनावमा उठ्छु भनेर सन्तोष माने । तर, हाम्रो उम्मेदवार जित्न सक्नुभएन’, उनले भने । २०७९ को निर्वाचनमा भने पार्टीले दीपेन्द्रलाई नै टिकट दियो । उनले चुनाव जिते । उनले सामाजिक रुपमा गरेको योगदान र उनको क्षेत्रमा देखाएको बलियो राजनीतिक उपस्थिति नै उनको जित्ने आधार भएको दीपेन्द्र बताउँछन् । दीपेन्द्र हाल जिल्ला कमिटीको उपसचिवको जिम्मेवारीमा छन् । एमाले विभाजन अघि उनले जिल्ला कमिटी सचिव भएर काम गरेका थिए । अब भने पार्टीमा जिल्ला कमिटीकै नेतृत्व सम्हाल्ने योजनामा उनी छन् । विकासमै केन्द्रित उनको ठाउँमा विद्युत पुगेकै थिएन । तर, निर्वाचित हुनु अगावै उनले गाउँमा विद्युत बाल्न भूमिका निर्वाह गरेका थिए । निर्वाचित भएपछि घोषणा पत्रमा उल्लेख भएका विषय एक एक गरी कार्यान्वयन गरिरहेका छन् । गाउँपालिकाभरी नै तीब्र विकासको नेतृत्व दीपेन्द्रले गरेका छन् । गाउँपालिकाभित्र करिब २८ सय घरधुरी छन् । जसमध्ये दुई हजार घरमा बिजुली पुगिसकेको छ । बाँकी घरमा पनि बिजुली पुर्याउन उनी दिन रात खटिरहेका छन् । उनले घरायसी प्रयोजनको विद्युतीय महसुल गाउँपालिकाले नै तिरिदिने व्यवस्था मिलाएका छन् । गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाएको छ । गाउँ पालिकाको प्रशासनिक भवन निर्माणको काम अघि बढाएका छन् । त्यससँगै सबै वडाको कार्यालय बनाउने उनको योजना छ । ‘संविधान बनाउँदा हामीले जनसंख्यालाई हेरेर गलत व्यवस्था गर्यौं । पहाडी क्षेत्रमा विकासमा करोडौं रुपैयाँ खर्च हुन्छ, बजेट थोरै हुन्छ’, उनले भने, ‘राज्यले बनाएको नीति नै लागू हुन सकेको छैन ।’ गाउँपालिकाको नेतृत्व मार्फत उनी गाउँलेले देखेको सम्पन्नाको सपना साकार पार्न लागेका छन् । मतदाताले पनि उनी सफल हुँदै गएको विश्लेषण गरिरहेका छन् । तर, दीपेन्द्र आफै भने गाउँका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । ‘मान्छेले मलाई सफल भएको देख्छन्, तर म सफल भएको छैन, गाउँपालिका बासी र मैले देखेको सपना जब पूरा हुन्छ त्यसबेला मात्रै म सफल भएको हुन्छु’, उनले भने ।