टाटा मोटरको नयाँ बस बजारमा, मञ्जुश्री यातायातले मात्र लियो २२ वटा बस

काठमाडौं, ४ साउन । टाटा मोर्टस्को लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ बस च्यासिस टाटा एल.पी.ओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो वस डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ । १८० हर्ष पावर भएको यस वाईड बडी च्यासिस नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ एवम् ४५ रिक्लाइनिङ सिट क्षमताको छ । १८० हर्ष पावर र ६७५ एनएम टर्कको इञ्जिन भएको र आधुनिक प्रविधि प्रयोग भएकोले यो गाडी अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले चल्ने कम्पनीको प्रमुख सञ्चालन अधिकृत राजेश श्रेष्ठले बताए । यस गाडीमा ३ बर्षवा ३ लाख किलोमिटर सम्मको वारेन्टी रहेको उनले बनाए । बसमा १४इन्चको डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी६०० गियर बक्स र ४१/७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ । टाटा मोटर्स्को नयाँ बस पहिलो पटक मन्जुश्री यातायात सेवा समितिले ५ वटा किनेको छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालनको लागि यो बस खरिद गरिएको समितिका कार्यवहाक अध्यक्ष अनिल चालिसेले बताए । सन् २००१ मा स्थापित मन्जुश्री यातायात सेवा समितिले काठमाडौ दिल्ली र काठमाडौ बनारसमा आवतजावत गर्ने यात्रुहरुको लागि आरामदायी र सुबिधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आईरहेको छ । मन्जुश्री यातायात सेवा समितिले २२ वटा टाटा बसहरु किनीसकेको छ । २६ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको सेवा संजाल भएको कम्पनी हो । टाटा मोर्टस् लिमिटेड भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी हो, जसले सन २०१५/१६ मा २,७ खर्ब ५,५ खर्ब ६१ करोडको कारोबार गरेको छ ।

खाद्य संस्थान दुर्गम र भूकम्पप्रभावित क्षेत्रमा आपूर्ति गर्दै

काठमाडौं, ४ साउन । झन्डै चार दशकदेखि देशका दुर्गम जिल्लामा खाद्यान्न उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थान दुर्गम क्षेत्रका अतिरिक्त भूकम्पप्रभावित क्षेत्र तथा दसैँका लागि चामलको व्यवस्थापनको जिम्मेवारी पनि सहजरुपमा निर्वाह गर्दै आएको छ । विसं २०३१ मा स्थापित सो संस्थानले ४२ वटा दुर्गम क्षेत्रमा धान, चामलसहित खाद्यान्न सस्तो र सुलभ मूल्यमा खाद्यान्न पु¥याउने गरेको छ । विशेषगरी विभिन्न जिल्लाका किसानसँग खरिद गरिएका धान, चामल, गहुँ, चिनी, सिमी, फापर, कोदो, उवा (गहुँजस्तै) को कारोबार संस्थानले गर्दै आएको छ । संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नको कारोवारमा केन्द्रित यो संस्थाले यो आर्थिक वर्षमा ,  राखी खरिद प्रस्ताव गरिएको जानकारी दिए । गत वर्ष प्रयोग भई बाँकी रहेको दुई लाख ६८ हजार ३५० क्विन्टल चामल संस्थानको गोदाममा मौज्दात रहेको छ । आव २०७२/०७३ मा एक लाख ७४ हजार क्विन्टल धान खरिद गरेकोमा हाल एक लाख ६२ हजार ४८० क्विन्टल धान मौज्दात रहेकाले संस्थानले यो वर्ष हालसम्म २५ हजार क्विन्टल खरिद गरेको छ । त्यस्तै, गहुँ ४० हजार क्विन्टल तथा कर्णाली अञ्चलको उत्पादन सिमी, फापर, उवा एक हजार ९८० क्विन्टल खरिद गर्ने लक्ष्य संस्थानले राखेको छ । हालैको विध्वंशकारी भूकम्पबाट पीडित जनतालाई पनि खाद्यान्न उपलब्ध गराइएको छ की भनी राखेको राससको जिज्ञासामा उनले भने– नेपाल खाद्य संस्थानले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत भूकम्प प्रभावित १४ जिल्लामा संस्थानसँग मौज्दात रहेको २४ हजार क्विन्टल तथा बङ्गलादेशबाट प्राप्त २२ हजार क्विन्टल चामल वितरण गरिसकिएको छ । नजिकिदो दसैँ र तिहारका लागि दुर्गम जिल्लामा चामल पठाउने योजना पनि संस्थानले राखेको छ की रु भनी सोधिएको प्रश्नको जवाफमा प्रवक्ता कार्कीले दसैँका लागि संस्थानसँग ४५ हजार ४३८ क्विन्टल चामल मौज्दात रहेको र ती जिल्लामा चामल पठाउन ढुवानी टेण्डर स्वीकृत भइसकेको बताए । बङ्गलादेशबाट सहयोगस्वरुप प्राप्त बाँकी ७८ हजार क्विन्टल चामलमा सुक्खाग्रस्त क्षेत्र कर्णालीमा कामको लागि खाद्यान्न कार्यक्रमअन्तर्गत ३० हजार क्विन्टल तथा बाजुरामा चार हजार क्विन्टल वितरण गरिएको छ । उनले बङ्गलादेशबाट थप प्राप्त हुने एक लाख क्विन्टल चामलमध्ये २० हजार क्विन्टल नेपाल भित्रिसकेको र बाँकी ८० हजार क्विन्टल चामल आगामी एक महिनाभित्र आइपुग्ने जानकारी गराए । रासस

दसैँसम्म सबै भूकम्प पीडितलाई ५० हजार, दाताले दिए एक खर्ब ८३ अर्ब

काठमाडौँ, ४ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दसैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ । पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पुर्याउने अठोट व्यक्त गरे ।   उनलेभने – भूकम्पपछिको पुनःनिर्माणको काममा सबै गैरसरकारी संस्थालाई एउटा ट्रयाकमा ल्याउन सफल भएका छौँ । दातृनिकायबाट प्राधिकरणको प्रसंशै प्रसंशा भएको छ । छिट्टै तीस हजार जनशक्ति तयार गर्छौं भूकम्पप्रभावित जिल्लामा अहिले एकैसाथ ३० हजार आवास निर्माणको चरणमा रहेको बताउँदै प्राधिकरणले भूकम्पप्रतिरोधी घर निर्माणका लागि छिट्टै ३० हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेकाले पुनःनिर्माणमा अब विलम्बको सम्भावना नरहेको जनाएको छ । पुनःनिर्माणको काम अत्यन्त सुस्त रहेको भनी सर्वत्र आलोचना भइरहेको बेला प्राधिकरणले अब त्यो विलम्ब हटेको दाबी गरेको हो । रानीपोखरीको निर्माण आगामी तिहारसम्ममा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको तथा ५१ वटा पुरातात्विक आयोजनाको टेण्डर प्रक्रिया अघि बढी त्यसमध्ये केहीको निर्माण प्रक्रिया अघि बढिसकेको छ । भूकम्पबाट ३१ जिल्ला प्रभावित भएकोमा १४ जिल्लामा त्यसको असर निकै परेको थियो । प्राधिकरणले हाल गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, काभ्रे, दोलखा, रसुवा, ओखलढुङ्गा, सिन्धुली र मकवानपुरमा विस्तृत घरधुरी सर्भेक्षण पूरा गरेको छ । निजी आवास पुनःनिर्माणको सिलसिलामा हालसम्म दुई लाख ५२ हजार ३५२ घरधनीसँग अनुदान सम्झौता हुनुका साथै ३५ हजार २९२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान पुगिसकेको बताइएको छ । पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता भएको चार खर्बमध्ये हालसम्म एक खर्ब ८३ अर्ब अनुदान सहयोग प्राप्त भइसकेको छ । पुनःनिर्माणका लागि आठ खर्ब रकम आवश्यकता पर्ने प्रारम्भिक अनुमान गरिएको छ । भूकम्पबाट करिब सात खर्ब बराबरको क्षति भएको थियो । दातृ निकायबाट पुनःनिर्माणका लागि दुई खर्ब ३५ अर्ब बराबरको अनुदान तथा ऋण सम्झौता भइसकेको छ । उनीहरु आवश्यकता परेको खण्डमा थप रकम उपलब्ध गराउन सहमत देखिएका छन् । छिमेकी मुलुक भारतले उपलब्ध गराउन कबुल गरेको एक खर्ब रकममध्ये २५ अर्ब अनुदान प्राप्त भइरहेको छ भने ७५ अर्ब ऋण सहयोग आउने क्रममा रहेको आयोगले जनाएको छ । चीनबाट भने ५० अर्ब बराबरको सहयोग प्राप्त भइसकेको छ । रासस