काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री साहले यस्तो दाबी गरेका हुन् ।
उनका अनुसार मन्त्रालयले हाल एलपीजी ग्यासको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम गरिरहेको छ । उनले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षालगायतका पक्षलाई विश्लेषण गरेको पनि बताए ।
ग्यास अभावको समस्या समाधान गर्न सरकारले तत्कालीन, मध्यमकालीन र दीर्घकालीन ऊर्जा सुरक्षा योजना निर्माण गरिरहेको मन्त्री साहले बताए । तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
उनले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए ।
उनले आफूले पदभार ग्रहण गरेलगत्तै ग्यास आपूर्तिको समस्याको प्राविधिक विश्लेषण गर्दै ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गरे । आपूर्ति प्रणालीको मुख्य अवरोधका रूपमा कृष्णभीरको पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन गरिएको मन्त्री साहले बताए ।
दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषयसमेत सरकारको प्राथमिकतामा रहेको उनले बताए । बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उनको भनाइ छ ।
उनले भने, ‘पछिल्लो समय आम नागरिकले प्रत्यक्ष अनुभव गरेको प्रमुख समस्या एलपीजी ग्यासको आपूर्ति हो । यस समस्यालाई मैले केवल आज कति ग्यास बुलेट आए भन्ने प्रश्नका रूपमा हेरेको छैन । लोडिङदेखि ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्ताको भान्सासम्म सम्पूर्ण सप्लाई चेनलाई एउटै प्रणालीका रूपमा हेरेका छौँ । म एउटा टेक्नो–इकोनोमिक इन्जिनियर भएको नाताले समस्या पहिचान गर्न ‘फिसबोन डायग्राम’ जस्तो प्राविधिक विश्लेषण प्रयोग गरेँ ।’

उनले चाडबाडको समयमा बजार अनुगमनमा कडाइ गरिएको भन्दै कुनै पनि व्यवसायीले उपभोक्ताको हितविपरीत काम गरे कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।