बजाज भि–१५ मोटरसाइकल लमजुङ्मा, मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल

बेसीशहर २७ असार । बजाजको आधिकारी बिक्रेता ग्लोबल अटो लिङ्कस बेसीशहरले बजाज मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल बजारमा ल्याएको छ । अटो लिङ्कसले सोमबार बजाज भि–१५ सार्वजनिक गरेको हो । यो बिल्कुलै नयाँ रेञ्ज भएको दावी अटो लिङ्कसले गरेको छ । यो मोटरसाइकल निकै आकर्षक छ । डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ । कच्ची तथा खाल्टा परेका सडकमा समेत सजिलै चलाउन सकिने गरि डिजाइन गरिएको यो मोटरसाइकल युवा पुस्ताले निकै रुचाउने विश्वास गरेको ग्लोबल अटो लिङ्कसका प्रोपाइटर विनोद श्रेष्ठले बताए । उनले भने, “यो बाइक अन्य बाइकको तुलनामा फरक छ, कच्ची सडक, पिच सडकमा भएका खाल्टाखुल्टी, अव्यवस्थित ट्राफिक जाम जस्ता चुनौतिको सामना गर्न सक्ने गरि डिजाइन भएको छ ।” भरपर्दो र शक्तिशाली सवारी साधनका रुपमा यो मोटर साइकल लमजुङ ल्याएको पनि उनले जानकारी दिए । यो बाइकको मूल्य दुई लाख चार हजार नौं सय रुपैयाँ तोकिएको छ । बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको प्रयोग र आकर्षक मोडल रहेको समेत श्रेष्ठले जानकारी दिए । बाइकको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडि ड्रमब्रेक प्रयोग गरिएको छ । दुबै टायर ट्युवलेस छन् । बाइकमा १३ लिटर इन्धन अट्छ । यसमा १.७ लिटर रिजर्भमा बस्छ । यो बाइक दुई वटा रंगमा बजारमा उपलब्ध छ । अटो लिङ्कसले दिएको जानकारी अनुसार पर्ल ह्वाइट र इबोनी ब्लयाकमा यी बाइक उपलब्ध छन् ।

पुनर्निर्माण कोष व्यवस्थापन कार्यविधि जारी

काठमाडौँ, २७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ जारी गरेको छ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणका लागि भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐनअनुसार कार्यविधि जारी गरिएको हो । पुनर्निर्माण कोषको सरल, पारदर्शी र जवाफदेही व्यवस्थापन गर्नु कार्यविधिको उद्देश्य रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ‘कोषमा वैदेशिक सहायताअन्तर्गत प्राप्त हुने ऋण तथा अनुदान रकम महालेखा नियन्त्रक कार्यालयले तोकेअनुसार विदेशी मुद्रा वा नेपाली मुद्रामा रहने गरी ‘क’ समूहको खातामा जम्मा गरिनेछ,’ उनले भने । अन्य स्रोतबाट प्राप्त हुने रकम महालेखा नियन्त्रक कार्यालयले नेपाली मुद्रामा रहनेगरी तोकिएको ‘ख’ समूहको बैंक खातामा रहने कार्यविधिमा उल्लेख छ । विशेष प्रयोजनका कार्यक्रम सञ्चालन गर्न प्राप्त हुने सहयोग रकम जम्मा गर्न सरकारी कारोबार गर्ने इजाजत प्राप्त वाणिज्य बैंकको चल्ती खाता खोल्नुपर्नेछ । यस्ता खाताबाट सोझै खर्च गर्न नपाइने प्राधिकरणले जनाएको छ । कार्यविधिअनुसार यस्ता खातामा जम्मा भएको रकम तोकिएको प्रयोजनमा खर्च गर्नुपर्ने थपलियाले बताए । रासस

राजनीतिक अस्थिरता कम भएसंगै नयाँ उद्योग खुल्ने क्रम बढ्यो

काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो। सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् । बैशाख पछि हालसम्म २ सय १५ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा १३ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४३ करोड २० लाख रहेको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । साँढे पाँच महिनामा सेवा सम्वन्धि ७५ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ७० उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४२ ओटा उद्योग दर्ता भएका देखिन्छन् । जसमा चिनियाँ लगानी धेरै मात्रामा रहेको छ। चिनियाँहरुले धेरैजसो चाइनिज भाषा सिक्ने इन्स्टिच्युट र रेष्टुरेन्टमा लगानी गरेको पाइएको छ।   दर्ता उद्योगमध्ये १ सय ५३ साना उद्योग छन् । त्यस्तै मझौला ३५ र ठूला उद्योगको संख्या ३० छ । ती उद्योगहरुबाट ८ हजार सातसय जनाले रोजगारी पाउनेछन्।