पुननिर्माण प्राधिकरणलाई ८४ अर्ब खर्च गर्ने अख्तियारी

काठमाडौं, ८ साउन । अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७३/७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । सो रकम मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट प्रदान गरिनेछ । वैदेशिक सहायतातर्फ नगद अनुदानतर्फ जाइकाबाट १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको छ । ऋणतर्फ आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुनेछ । सरकारले बजेट वक्तव्यमा चालू आर्थिक वर्षका लाग १ खर्ब ४२ अर्ब रुपैयाँ व्यवस्था गरेको छ । गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शिर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रकृयामा बढी समय लागेको थियो । यस पटक १३ वटा खर्च शिर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

नयाँ बजारमा टोयोटाको जेन्युइन स्पेयर पार्टस आउटलेट

काठमाडौं, ८ साउन । नयाँ बजारमा टोयोटो मोटर्सको जेन्युइन स्पेयर पार्टस आउटलेट सञ्चालनमा आएको छ । नेपालका लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालि सो आउटलेटको स्थापना गरेको हो । सो आउटलेटबाट टोयोटा कम्पनीका सबै प्रकारका जेन्युइन पार्टस्, मोविल आयल तथा एसोसोरिजहरु उपलव्ध हुने छन । हाल नेपाली सडकमा टोयोटा कम्पनीका ३५ हजार सवारी साधन गुड्छन् । कम्पनीले आउटलेटसँगै वर्कसप सञ्जाल समेत विस्तार गर्दै जाने कम्पनीले जनाएको छ । कम्पनीका जनरल मेनेजर महेश कुमारले टोयोटा कम्पनीका सवारी साधन प्रेमी नेपाली उपभोक्ताका लागि नयाँ बजारमा जेन्युइन स्पेयर पार्टस आउटलेट सञ्चालनमा ल्याएको बताए । टोयोटो कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने बताउँदै उनले नक्कली स्पेयर पार्टसबाट जोगिन उपभोक्तालाई आग्रह समेत गरे ।

उद्योग वाणिज्य सङ्घमा ४६२ व्यवसाय दर्ता

पाल्पा, ७ साउन । रामपुर उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७२/७३ मा ४६२ जनाले आफ्नो उद्योग व्यवसाय दर्ता गराएका छन् । पाँच सय ५७ व्यवसायीले रामपुर नगरपालिकामा नवीकरण गरेका छन् । नगरपालिका र उद्योग वाणिज्य सङ्घमा दर्ता गरेर मात्र व्यवसाय चलाउनुपर्ने गरी समन्वय भएको छ । उद्योग वाणिज्य सङ्घले सिफारिस गरेपछि नगरपालिकामा दर्ता गर्ने नियम रहेको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए। यहाँका व्यवसायी, व्यापारीलाई सहज सेवा दिने उद्देश्यले वाणिज्य सङ्घले नगरपालिकासँग समन्वय गरेर नगरका विभिन्न सात स्थानमा सञ्चालित घुम्ती शिविरमा १३३ जनाले आफ्नो व्यवसाय दर्ता गराएका थिए । यस्तैगरी सङ्घले रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग, करदाता सेवा कार्यालय, कर कार्यालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराको सहयोगमा कर, पान भ्याट तथा व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम, उद्यमशीलता तालिम सञ्चालन गरेको छ । गत असोजमा रामपुर उद्योग वाणिज्य सङ्घका रुपमा जिल्ला प्रशासनमा दर्ता भई सञ्चालनमा आएको हो । उद्योग वाणिज्य सङ्घ यहाँ स्थापना भएपछि विभिन्न व्यवसाय, व्यापार, पसल, उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले बताए । रासस