विपद् व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापनमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै सरकारले सम्मान गर्ने घोषणा गरेकोमा स्वागत गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा नेपाल चेम्बरसहित निजी क्षेत्रले विपद् व्यवस्थापनमा गरेको सहयोग र त्यसबाट प्राप्त उपलब्धिको प्रशंसा गरिएको थियो । बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का बेला महत्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गर्ने जानकारी दिएका थिए ।

सरकारको उच्च तहबाट निजी क्षेत्रको योगदानको सम्मान र कदर गर्ने घोषणा हुनु उत्साहजनक रहेको चेम्बरले जनाएको छ । यसले विपद् व्यवस्थापनमा निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन प्रोत्साहन मिल्ने चेम्बरको भनाइ छ ।

भोटेकोशीमा आएको बाढी तथा त्यसपछि भएका मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका पहल तथा समन्वयलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको छ ।

विपद्का समयमा सरकारी संयन्त्रसँगै निजी क्षेत्रबाट उपलब्ध स्रोत, साधन, राहत सामग्री, स्वास्थ्य सेवा, यातायातलगायतका सहयोग प्रभावित क्षेत्रमा पुर्याउन सरकारी निकायसँगको समन्वय महत्वपूर्ण रहेको चेम्बरले जनाएको छ ।

गृह मन्त्रालयले विपद् व्यवस्थापनलाई बहुक्षेत्रीय जिम्मेवारीका रूपमा अघि बढाउँदै संघ, प्रदेश र स्थानीय तहका साथै सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वयमा जोड दिँदै आएको चेम्बरको भनाइ छ ।

मनसुनजन्य विपद्को पूर्वतयारी, सूचना तथा चेतावनी प्रणाली, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संयन्त्र परिचालन हुनु सकारात्मक रहेको चेम्बरले जनाएको छ ।

चेम्बरले विपद्का समयमा निजी क्षेत्रले सरकारलाई स्वतःस्फूर्त रूपमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सरकारसँगको सहकार्य र समन्वयलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।

विपद् व्यवस्थापनमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने, आवश्यक वस्तुको सहज आपूर्ति तथा प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनःसञ्चालनलाई समेत प्राथमिकता दिनुपर्ने चेम्बरले जनाएको छ ।

कार्यकारी समितिको ३७औँ बैठकले प्रभावित क्षेत्रमा जारी खोज कार्यको समीक्षा गर्दै पुनःस्थापना तथा पुनरुत्थानका काम अघि बढाउने निर्णय गरेकोमा चेम्बरले त्यसको स्वागत गरेको छ ।

विपद् व्यवस्थापनमा गृह मन्त्रालयले निजी क्षेत्रसँग नियमित संवाद र समन्वयका लागि स्पष्ट संयन्त्र बनाउनुपर्ने चेम्बरको माग छ । यस्तो संयन्त्रमार्फत निजी क्षेत्रसँग उपलब्ध स्रोत तथा क्षमताको पूर्वपहिचान गरी विपद्का बेला आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ ।

विपद् व्यवस्थापन राज्यको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको साझा दायित्व भएको चेम्बरले जनाएको छ । प्रभावकारी समन्वय, पूर्वतयारी र शीघ्र निर्णय प्रक्रियाबाट विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने चेम्बरको भनाइ छ ।

Share News