इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरू फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे । ‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौं । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरूलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौं,’ अध्यक्ष डाँगीले भने । यस अघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा अध्यक्ष बनेका हुन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानमा आवद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भएपनि बोल्दा सधैं ध्यान दिनुपर्ने बताए । ‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्ण जानकारी छैन भने यसबारेमा पछि कुरा गरौंला भनेर भन्नसक्नुपर्छ,’ कार्कीले भने, ‘बोलीमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ । निवर्तमान अध्यक्ष कार्कीले हिजो आफ्नो कार्यसमितिले उठाएका मुद्दाहरू सबैजसो राजनीतिक दलका घोषणापत्रमा समेटिनु ठूलो सफलता भएको र अबको कार्यसमितिले त्यसलाई कार्यान्वयनका लागि झकझक्याइरहनुपर्ने पनि बताए । इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भएपनि ऊर्जा क्षेत्रका मुद्दाहरूमा हिजोकै जसरी सँगै हुने बताए । ‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ । यो कार्यसमितिले त्यो लिगेसी सतप्रतिसत बहन गर्न नसक्ला कि भन्ने लागिरहेको छ । त्यसैले सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधै संगै हुने विश्वास छ,’ भ्लोनले भने । ७०० ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो । 

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।  मंगलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।       अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

माउन्ट एभरेष्टको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।