टिभिएसको सवारी किन्दा दुई वर्षसम्म कर तिर्न नपर्ने

काठमाडौं । नेपालका लागि टिभिएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘२ वर्ष ट्याक्स फ्री टिभिएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई सहज र किफायती सवारी स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा २ वर्षसम्मको सवारी कर सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनासँगै ग्राहकले न्यूनतम प्रक्रिया मार्फत फाइनान्स सुविधा, २ हजार ८९९ रूपैयाँबाट सुरु हुने ईएमआई, पुरानो सवारी साटेर नयाँ टिभिएस खरिद गर्ने एक्सचेन्ज सुविधा समेत प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस अफरले सवारी खरिद प्रक्रिया अझ सहज, किफायती र आकर्षक बनाउने विश्वास लिइएको छ । ग्राहकलाई नजिकको आधिकारिक टिभिएस शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन आग्रह गरिएको छ । नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र वितरकका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर सञ्जाल विस्तार गर्दै अटोमोबाइल क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ । 

सरकारी नियन्त्रणमा रहेका बीवाईडीका सबै गाडी फुकुवा

काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ । कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो । कोरलानाकाबाट ती सबै विद्युतीय सवारीसाधनलाई साइमेक्स ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो । ती सवारीसाधनको कैफियत रहे/नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो । सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त  समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा  कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको उनले बताए । कैफियतको आशङ्कामा कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन दुई सातासम्म सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको थियो । कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा ती सवारी साधनलाई फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ विद्युतीय सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ । जोमसोम बसपार्कमा अहिले २६६ विद्युतीय सवारीसाधनमध्ये ४३ मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारीमध्ये भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ लैजाने र भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तव्यतर्फ लैजान समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ । रासस

नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि

बाँके । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ । एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रुपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । उनका अनुसार, भन्सारमा कडाई गरेपछि चैत र बैशाख महिनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । गत फागुन महिनामा रु एक अर्ब ९३ करोड, ३८ लाख १९ हजार सङ्कलन भएकोमा चैत महिनामा रु दुई अर्ब १४ करोड, २५ लाख ५४ हजार र वैशाख महिनामा रु एक अर्ब ८४ करोड, २८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ । हरेक सामान किनमेलनका लागि सीमापारि भारतीय बजार रुपैडिहा जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाइ गर्दा राजस्व वृद्धि हुनुका साथै नेपागञ्जको व्यापार व्यवसाय फस्टाउँदै गएको उनले जानकारी दिए। नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिना अवधिमा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२-०८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म दश महिनामा मात्र रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजारअर्थात् लक्ष्यको ६८ दशमलव दुई प्रतिशत असुली भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइपछि धेरै उपभोक्ता सीमापारि जान छाडेकोले नेपाली स्थानीय बजार चलायमान हुन थालेको बताए । रासस