९.८ मेगावाटको लुजा खोला हाइड्रो बन्ने, २०८४ चैतदेखि बिजुली उत्पादन गर्ने

काठमाडौं । ९.८ मेगावाटको लुजा खोला क्यासकेड जलविद्युत आयोजना बन्ने भएको छ । एरिस इनर्जी प्रालिले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको हुनेछ जसको जडित क्षमता ९.८ मेगावाट रहनेछ । आयोजनाको डिजाइन बहाव ३.३७ घनमिटर प्रति सेकेण्ड तथा कुल हेड ३४९ मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक रूपमा करिब ६४.८१ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । आयोजना क्षेत्र दुधकोशी नदीको दायाँ किनारमा पर्नेछ, जहाँ आवश्यक संरचनाहरू निर्माण गरिनेछन् ।  आयोजनाअन्तर्गत पानी संकलनका लागि १० मिटर लामो, ५ मिटर चौडाइ र ५ मिटर उचाइको हेडपोन्ड निर्माण गरिनेछ, जुन समुद्री सतहबाट २ हजार २९४ मिटर उचाइमा रहनेछ । लुजा खोला जलविद्युत आयोजनाको टेलरेसबाट सिधै पानी ल्याएर हेडपोन्डमा पुर्याइनेछ । त्यहाँबाट १ हजार ७७५ मिटर लामो पेनस्टक पाइपमार्फत पानी विद्युतगृहमा पुर्याइने व्यवस्था हुनेछ । पेनस्टक पाइपको व्यास ०.७५ मिटरदेखि १.२ मिटरसम्म र मोटाइ ८ मिलिमिटरदेखि २२ मिलिमिटरसम्म रहने कम्पनीले जनाएको छ । विद्युतगृहमा २ वटा ५.०५२ मेगावाट क्षमताका होरिजोन्टल एक्सिस पेल्टन टर्बाइन र २ वटा ५.७६५ मेगावाट क्षमताका जेनेरेटर जडान गरिनेछन् । त्यसपछि पानीलाई २० मिटर लामो, १.५ मिटर उचाइ र २ मिटर चौडाइ भएको टेलरेस नहरमार्फत पुनः दुधकोशी नदीमा फर्काइने कम्पनीले जनाएको छ । टेलरेसको पानीको सतह समुद्री सतहबाट १ हजार ९४२ मिटर उचाइमा रहने छ । उत्पादित विद्युत १३२ केभी क्षमताको करिब २०० मिटर लामो सिङ्गल सर्किट प्रसारण लाइनमार्फत स्विचयार्डमा जोडिने योजना छ । आयोजनाबाट २०८४ चैत ३० गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा पर्ने सम्भावित असरलाई न्यूनीकरण गर्न स्वीकृत स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अनुसार आवश्यक उपायहरू अपनाइने जनाइएको छ । विद्युत विकास विभागले आयोजना कार्यान्वयनका क्रममा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र सम्बन्धित निकायमा लिखित सुझाव वा आपत्ति दिन सकिने व्यवस्था गरेको छ ।  

मूल्य वृद्धिको बाबजुद पनि मङ्गला कन्ट्रक्सनले लक्ष्यअघि नै सक्यो सडक स्तरोन्नति

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी-कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघि नै सम्पन्न भएको छ । आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बाबजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते ४६ लाख २९ हजार १२४ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले बताए । कार्यालयका अनुसार उक्त योजनाको ९६.२२ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयका अनुसार उक्त योजनामार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने सडकको २५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ । उपल्लो तुसारेपानी र कुहुँकोबीचमा रहेको डाडाँको घुम्तीमा १२८ घनमिटर ग्याबिन पर्खाल लगाएर सडक फराकिलो पारिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताए । कुहुँका बासिन्दा रविन पुनले सडक सुधार भएपछि सवारी साधन आवत जावत सहज र सुरक्षित भएको बताए । मार्ग खुलेपछि सामान्य मर्मतको भरमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुँदै आएको साँघुरो सडकमा गाडी फर्काउने ठाउँ नभएर ३०० मिटर टाढा लैजानुपर्ने समस्याको अन्त्य भएको पुनकाे भनाइ छ । सडकको शुक्रबार अनुगमन गर्न जानुभएका म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनयर डिभिजनल ईञ्जिनियर डा. महेन्द्र बानियाले मूल्यवृद्धिको असहज अवस्थामा पनि लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गरेर व्यवसायीले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए । कार्यालय प्रमुख बानियाँका अनुसार यस वर्ष सञ्चालन भएका अन्य दुई वटा योजना पनि लक्ष्य अघिनै सम्पन्न भएका छन् । निर्माण कम्पनीले ४६ लाख ७९ हजार ९८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको घारखोला-नेपाने सडक र रुप्से बिल्डर्सले ३५ लाख १७ हजार ३३७ रुपैयाँमा ठेक्का लिएको ज्ञानप्रकाश माविदेखि कोट-खलङ्गा हुँदै ठारा जाने सडक पनि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताए । 

ठेकेदार मारमा, कर्मचारी घरमा

काठमाडौं । बिटुमिन अर्थात् अलकत्राको अभाव हुँदा देशभरका सडक निर्माणमा समस्या सिर्जना भएको छ । भारतबाट आयात हुने बिटुमिनको मूल्यवृद्धिसँगै अभाव हुँदा देशभरका सडक निर्माणमा असर परेको हो ।  सडक विभागका प्रवक्ता श्याम खड्काका अनुसार देशका प्रायः सबै सडक आयोजनाहरूमा बिटुमिनको अभावले असर पु¥याएको छ । ‘नारायणघाट-मुग्लिनदेखि सूर्यविनायकसम्मका सबै मुख्य सडकहरू प्रभावित छन्,’ खड्काले भने ।  देशभर कति प्रतिशत सडकमा असर प¥यो भन्ने यकिन तथ्याङ्क नभए पनि सबै ठूला आयोजनाहरू अहिले समस्यामा रहेको उनले जानकारी दिए ।  अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको आपूर्तिमा आएको अवरोध र अप्रत्याशित मूल्यवृद्धिका कारण राष्ट्रिय गौरवको आयोजना नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्य गम्भीर रूपमा प्रभावित भएको चितवन निर्माण व्यवसायी संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेले विकासन्युजसँग बताए ।  उनका अनुसार बिटुमिनको चरम अभावले गर्दा आयोजनाको झण्डै ८० प्रतिशत काम अझै बाँकी रहेको अवस्थामा निर्माण प्रक्रिया नै ठप्प छ । आपूर्ति शृङ्खलामा अवरोध र मूल्यमा दोब्बर वृद्धि भएको उनको भनाइ छ ।  इरानबाट ठूलो मात्रामा बिटुमिन आयात हुने गरेको छ । नेपालमा भारत हुँदै बिटुमिन आयात हुन्छ । भारतीय कम्पनी ‘हिन्दुस्तान पेट्रोलियम’ ले नेपाललाई दिँदै आएको बिटुमिन आपुर्ति पूर्णरुपमा बन्द गरेको व्यवसायीहरु बताउँछन् ।  इरानबाट आपूर्ति रोकिएपछि भारतले आफ्नो देशको उत्पादन आफैले खपत गर्न थालेको छ, जसका कारण नेपालमा बिटुमिनको हाहाकार मच्चिएको हो । अभावसँगै बिटुमिनको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको छ ।  न्यौपानेका अनुसार केही समय अघिसम्म प्रतिकिलो ७८ रुपैयाँमा पाइने बिटुमिनको मूल्य अहिले भ्याटसहित १६० रुपैयाँ पुगेको छ । न्यौपानेका अनुसार आयोजनाको बेस र सब-बेसका कामहरू सकिए पनि पिच गर्ने मुख्य काम बिटुमिनकै अभावमा रोकिएको छ ।  ‘हाम्रो एरियामा अझै ८० प्रतिशत काम बाँकी छ, जसमा धेरैजसो अलकत्राकै काम हो,’ उनले भने । उनका अनुसार बिटुमिनको अभाव हुँदा सडक निर्माणमा खटिएका कर्मचारीहरु पनि घर फर्किन थालेका छन् ।  अहिलेको संकट समाधानका लागि निजी क्षेत्रबाट मात्र सम्भव नदेखिएको उनको तर्क छ । न्यौपानेका अनुसार अब नेपाल सरकारले भारत सरकारसँग समन्वय गरेर बिटुमिन आयात नगरेसम्म आयोजना अगाडि बढ्न सक्ने अवस्था छैन । यदि समयमै यसको समाधान नखोजिए लागत बढ्नुका साथै आयोजना अझै लम्बिने निश्चित देखिएको उनी बताउँछन् ।  नेपाल बिटुमिन तथा ब्यारेल उद्योगका अनुसार बजारमा आपुर्ति रोकिएको छ । भएको स्टक पनि महँगो मूल्यका कारण बिक्री हुन नसकिरहेको उद्योगको भनाइ छ ।  ‘ग्राहकहरू आउँछन्, मूल्य सोध्छन् र मूल्य सुन्नेबित्तिकै भाग्छन्,’ उद्योग स्रोतले भन्यो ।  निर्माण व्यवसायी महासंघका महासचिव शिवहरी घिमिरेले बिटुमिनको अभाव र मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा भयावह स्थिति सिर्जना भएको बताए । उनका अनुसार बिटुमिन नहुँदा झण्डै २५ प्रतिशत निर्माण कार्य रोकिएको छ ।  उनका अनुसार व्यवसायीहरूलाई १ करोडको काम गर्दा १ करोडकै घाटा हुने अवस्था सिर्जना भएको छ । बिटुमिन र इन्धनको मूल्यवृद्धिका कारण समग्र आयोजनाको लागत ४० प्रतिशत बढ्ने उनको अनुमान छ । निर्माण कार्य नभएपछि श्रमिकहरू कटौतीमा परेका छन् । उनका अनुसार व्यवसायीहरूले मूल्य समायोजनका लागि सरकारसँग माग गरे पनि सरकारबाट ठोस कदम चालिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मूल्य समायोजनको मौखिक आश्वासन दिए पनि अहिलेसम्म कुनै लिखित निर्णय वा कार्यान्वयन नभएको उनको भनाइ छ ।  सरकारी निकाय र कर्मचारीले जिम्मेवारी नलिँदा र समयमै मूल्य समायोजन नगर्दा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प हुने र निर्माण व्यवसायीहरू पलायन हुने स्थिति सिर्जना हुने चिन्ता उनले व्यक्त गरे ।